सरकारलाई ‘मृत’ करार गर्ने चित्र

काठमाडौं– वीर अस्पतालको बाटो हुँदै भोटाहिटीतर्फ जाने धेरैजसो यात्रुको नजर बायाँतिरको भित्ताको चित्रमा ठोकिन्छ । रत्नपार्क ‘अन्डरग्राउन्ड सब वे’सँगैको पर्खालमा पोतिएको त्यो ठूलो चित्रले बाटो हिँड्ने जो–कसैकोे ध्यान तान्छ । र, एक छिन रोकिएर नियाल्न बाध्य बनाउँछ ।

कालो पृष्ठभूमिमा सेतो रङले पोतिएको ‘खप्पर’, आगोको लप्काको पृष्ठभूमिमा चिता जलाइरहेको मानिस, पञ्जामा ‘मुंग्रो’(ग्याभेल) समातेर झम्टिन खोजिरहेको गिद्धको यो चित्रले यो बाटो हिँड्ने सबैलाई एकछिन टक्क अडिन बाध्य बनाउँछ । भयानक चित्रको बीचमा लेखिएको ‘डेड सरकार...’ पढेपछि चित्र हेर्नेहरू एक छिन सोचमग्न हुन सक्छन् । 

सार्वजनिक भित्तामा सरकारलाई मृत घोषणा गर्ने ‘दुस्साहस’ गरेको हो, लक्ष्मण श्रेष्ठ नेतृत्वको ‘खोज’ समूहले । चित्रको सिग्नेचर लाइनमा ‘खोज’ लेखिएको पनि देख्न सकिन्छ ।

चित्रमार्फत जनताको दृष्टिमा सरकार देखाउन खोजेको बताउँछन्, चित्रकार लक्ष्मण श्रेष्ठ । वर्तमान सरकारका काम–कारबाहीले सरकार जनताको नजरमा मृतप्रायः भएको उनको ठहर छ । ‘सामान्यजनको जीवनस्तर सुधारका लागि सरकारले केही गर्न नसकेपछि सरकार हुनु र नहुनुको केही अर्थ छैन,’ श्रेष्ठ प्रस्ट्याउँदै भन्छन् । 

सरकामाथि प्रश्न गर्दै श्रेष्ठ भन्छन्, ‘जुम्ला, बाजुरा र कालिकोटमा मान्छे खान नपाएर मर्छन्, तर, सरकार भने पानीजहाज चलाउने गफ दिन्छ भने त्यहाँका जनताका लागि त सरकार मरेकै भयो नि हैन र ?’
 
सरकार ‘मृत’ भएको प्रमाण पेस गर्दै श्रेष्ठ प्रश्न गर्छन्, ‘निर्मला पन्तको बलात्कारी खोइ ?’, ‘देशमा रोजगारी सिर्जना गरेको खोइ ?’

वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्छु भनेर वाचा गरेको सरकारले मलेसिया सरकारसँग रोजगारीको सम्झौता गरेको उदाहरण दिँदै उनी भन्छन्, ‘विदेशमा काम गरेर पठाएको रेमिट्यान्सबाट चलेको छ, देश । देश र परिवार चलाउन विदेशिएका युवाको लास दैनिक आइरहेको छ ।’   



वैदेशिक रोजगारीको कहर झल्काउन नै उनले पेन्टिङको मध्यभागमा चिता जलाउन निहुरिरहेको मान्छेको चित्र पोतेका हुन् । ‘वैदेशिक रोजगारीमा पठाउनु भनेको यसरी नै मान्छे मार्नु हो,’ श्रेष्ठ अगाडि थप्छन्, ‘वैदेशिक रोजगारीमा पठाएर सरकार देशलाई नै मार्दै छ ।’

दूरदराजका नागरिकले दुईतिहाइ बहुमतसहितको सरकारको अझै अनुभूति गर्न नपाएको भन्दै उनले दिनदहाडै सरकारलाई ‘मृत करार’ गरेका हुन् ।



                                                                                                ∞∞∞

कला जनताको भाषा भएको बताउँदै श्रेष्ठ भन्छन्, ‘कला जन–जनका आवाज बन्नुपर्छ ।’ यही धारणाबाट प्रेरित उनले सन् २०१२ मा नेपालगन्जमा ‘संसद् भर्सेस जनता’ शीर्षकको स्ट्रिट पेन्टिङ कोरेका थिए । पहिलो संविधानसभाको म्याद सकिने वेला बनाइएको यो चित्रमा उनले बक्सिङ रिङभित्र सांसद र जनतालाई देखाएका थिए ।

धेरैजसो नेपालीका लागि अझै पनि चित्रकारिता सोखको विषय मात्रै हो । बहुसंख्यक जनताको पहुँचभन्दा बाहिर रहेको चित्रकलालाई खुला आकाशमुनि ल्याएर आफूले नागरिकका लागि कला बनाउने प्रयासमा लागेको ठान्छन्, श्रेष्ठ । ‘स्ट्रिट फर अल आर्ट’को नारासहित नागरिकका लागि कला भन्दै उनले काठमाडौंका कैयौँ सडकभित्तामा यसरी चित्र पोतेका छन् । 

भ्रूणहत्यालाई संकेत गर्दै, ‘सचेतना भ्रूण हत्या’ बालश्रमको विरोधमा, ‘चासो कसलाई’ महिला हिंसाको विरोधमा ‘जलाइएकी म’ र विकासका नाममा भइरहेको विनाशको विरोध गर्दै ‘विकास भर्सेस विनाश’ उनले बनाएका प्रमुख स्ट्रिट पेन्टिङ हुन् । 

नागरिक पनि देशप्रति सचेत हुनपर्ने धारणा राख्दै उनले ‘म मस्त देश अस्तव्यस्त’ ‘भ्रष्ट म’जस्ता शीर्षक दिएर पनि स्ट्रिट पेन्टिङ गरेका छन् ।

सजिलो छैन सडकमा पेन्टिङ गर्न

‘कला खुला आकाशमा बाजी मार्न सक्नुपर्छ 
कला महलको शोभा मात्र होइन 
कला जन–जनको बेजोड आवाज पनि बन्न सक्नु पर्छ ।’ 

लक्ष्मण श्रेष्ठले आफ्नो फेसबुक वालमा लेखेका छन् । 

एब्स्ट्रयाक पेन्टिङबाट चित्रकारिता सुरु गरेका श्रेष्ठले जनताप्रति लक्षित गर्दै ‘स्ट्रिट पेन्टिङ’ रोजेका हुन् । तर, सडकका भित्तामा पेन्टिङ गर्न त्यति सहज भने छैन । सार्वजनिक सम्पत्तिमा सार्वजनिक निकायलाई नै प्रश्न गर्दै, सरकारको विरोध गर्दै चित्र बनाउन साहस भएर नपुग्ने, दुस्साहस चाहिने बताउँछन्, श्रेष्ठ ।

भित्तामा चित्र बनाउँदा प्रहरी र स्थानीयवासीको हप्की खानुपर्ने पीडा छ, श्रेष्ठसँग । ‘डरैडरमा चित्र बनाउनुपर्छ’ उनी भन्छन्, ‘कहिले प्रहरी आएर गाली गर्छ, कहिले स्थानीय आएर ।’ 

०७२ को भूकम्पपछि राजधानीमा मौलाएको ग्यासको कालोबजारीको विरोध गर्न भन्दै श्रेष्ठले भृकुटीमण्डप, रत्नराज्य कलेजअगाडिको भित्तामा ‘ग्याँस सिलिन्डरमा मिडिल फिंगर’ देखाउँदै चित्र पोते । ‘तर, पछिल्लो दिन महानगरपालिकाले फोन गरेर किन अश्ीलल चित्र बनाएको भन्दै थर्कायो,’ उनले सुनाए । 

‘भित्तामा राजनीतिक नारा लेख्न हुने, मैले चित्र बनाउन किन नहुने ?’ उनी प्रश्न गर्छन् । भित्तामा राजनीतिक नारा पढ्नुभन्दा चित्र हेर्नु ठीक भएको श्रेष्ठको तर्क छ । स्ट्रिट पेन्टिङलाई सचेत समाजको सूचक पनि ठान्छन्, श्रेष्ठ ।

अहिले ‘डेड सरकार’ पोतिएकै स्थानमा श्रेष्ठले तीन वर्षअघि ‘टेका’ शीर्षकको चित्र पनि बनाएका थिए । भूकम्पपछि काठमाडौंका घरमा टेका लगाएको विषयलाई देखाउन उनले चित्रमा पृथ्वीलाई नै टेका लगाइएको चित्र बनाएका थिए ।

प्राचीनकालमा रोमबाट सुरु भएको भित्तामा चित्र कोर्ने यो कलालाई ‘नागरिकले विरोधको आवाज व्यक्त गर्ने कला’को रूपमा लिइन्छ । श्रेष्ठ कसैको अनुमति बेगर नै सार्वजनिक स्थल र निजी भित्तामा चित्र बनाउँछन् । ‘किनभने यो चित्रकलाको सुरुवात नै विरोध र विद्रोहोको स्वर बुलन्द बनाउन भएको हो,’ श्रेष्ठ अगाडि भन्छन्, ‘विरोध गर्न कसैले अनुमति त माग्दैनन् ।’

सार्वजनिक स्थलमा विरोधको स्वर पोख्दै बनाइने चित्र प्रायः राति बनाइन्छ । दिउँसो बनाउनुपरे पनि हतार–हतार चित्र बनाएर भाग्ने गरिन्छ । 

श्रेष्ठले ‘डेड सरकार’ ६ घन्टामा बनाएका हुन् । ‘सुरुमा चित्र बनायौँ । त्यसपछि पत्रिकाले छोप्दै डेड सरकार लेख्यौँ,’ श्रेष्ठले सुनाए । चित्रमा ‘डेड सरकार’ लेखिसकेपछि श्रेष्ठको समूह हतार–हतार त्यहाँबाट भाग्यो ।

वीर अस्पताल छेउको भित्तामा पोतिएको यो चित्रले सरकारलाई साँच्चिकै प्रश्न गरेको छ, ‘सरकार ज्युँदै त छ ?’ श्रेष्ठ प्रश्न गर्छन्, ‘होइन भने किन सरकार छ भनेर देखाउन पोलमा प्रधानमन्त्रीको तस्बिर झुन्ड्याउनुपर्छ ?’ 

  • प्रकाशित मिति : माघ २, २०७५ बुधबार १६:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया