काठमाडाैं– सशुल्क लिफ्ट सेवामार्फत चर्चा कमाएको टुटल र पठाओ विवादमा आएपछि यो विषयमा सिंहदरबारमा छलफल सुरु भएको छ । सो सेवाको अनुगमन तथा नियमनको विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको हो ।
सो सेवा कानुनविपरीत रहेको भन्दै गत शनिबारदेखि महानगरीय ट्राफिक प्रहरीले टुटल र पठाओसम्बद्ध मोटरसाइकल तथा स्कुटर नियन्त्रणमा लिएको थियो । सञ्चारमाध्यममा यो विषयमा बहस हुन थालेपछि मन्त्रालयले मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागसँग छलफल अगाडि बढाएको हो ।
मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत बाहिर आएको विषयले मन्त्रालयमा प्रवेश पाएको बताउँदै टुटल र पठाओको विषयमा केही दिनमै निष्कर्ष निकालिने बताए ।
यता, सामाजिक सञ्जाल प्रयोगकताले भने टुटल र पठाओजस्ता यातायातका साधन उपयोगी र व्यावहारिक भएको अभिव्यक्ति दिएका छन् । सञ्जाल प्रयोगकर्ताहरूले ट्राफिक प्रहरीको कदमप्रति विरोध जनाउँदै टुटल र पठाओको समर्थनमा उत्रिएका छन् । सर्वसाधारण र राजनीतिक दलका केही नेताले पनि टुटल र पठाओको पक्षमा समर्थन जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।