सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकबारे छलफल सुरु गरेको छ । मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयकको बारेमा छलफल प्रारम्भ गरिएको हो ।
उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको सो विधेयकको बारेमा पार्टीभित्र प्रारम्भिक छलफल सुरु गरिएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
बैठकमा पार्टीको भ्रातृ संस्थाको विधानमा एकरुपता ल्याउने विषयमा के भइराखेको छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । पार्टीको अब बस्ने केन्द्रित समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि केन्द्रीय सदस्य विश्वकर्माले बताए ।
उनले भने, ‘आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने गरी भ्रातृ संस्थाको विधानमा एकरूपताको बारेमा के भइराखेको छ भन्ने बारेमा छलफल भयो । र, निर्वाचन आयोगले अघि सारेको निर्वाचनसम्बन्धी विधेयकको बारेमा प्रारम्भिक छलफल भयो ।’
नेपाली कांग्रेसले तत्कालीन केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भ्रातृ संस्थाहरूको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो । त्यसैलाई केन्द्रीय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको केन्द्रीय सदस्य विश्वकर्माको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।