भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टमा घरेलु टोली इंग्ल्याण्डले सात विकेटको सहज जित हात पारेको छ ।
३७८ रनको लक्ष्य इंग्ल्याण्डले तीन विकेट गुमाउँदै पूरा गर्यो । यो इंग्ल्याण्डले टेस्ट क्रिकेटमा पूरा गरेको सबैभन्दा ठूलो योगफल हो । यसअघि उसले सन् २०१९ मा अस्ट्रेलियाविरुद्ध ३५९ रनको लक्ष्य भेट्टाएको थियो ।
इंग्ल्याण्डका लागि जो रुट र जेनी बेरिस्टोले शतकीय पारी खेले । १४२ रनमा अविजित रहेका रुटले १७३ बलमा १९ चौका र एक छक्का प्रहार गरे ।
बेरिस्टो १४५ बलमा १५ चौका र एक छक्कासहित ११४ रनमा अविजित रहे । एलेक्स लिसले ६५ बलको सामना गर्दै आठ चौकासहित ५६ तथा ज्याक क्राउलीले ४६ रनको योगदान दिए । भारतका लागि कप्तान जसप्रित बुमराहले दुई विकेट हात पारे ।
भारतले दोस्रो पारीमा सबै विकेट गुमाउँदै २४५ रन बनाएको थियो । उसका लागि चेतेश्वर पुजार र ऋषभ पन्तले अर्धशतकीय पारी खेले ।
१६८ बलमा ६६ रन बनाएका पुजाराले आठ चौका प्रहार गरे । पन्तले ८६ बलमा आठ चौकासहित ५७ रन जोडे । रविन्द्र जडेजाले २३, विराट कोहलीले २०, मोहम्मद शामीले १३ र हुनमा बिहारीले ११ रनको योगदान दिए ।
इंल्याण्डका लागि कप्तान बेन स्टोक्सले चार, स्टुआर्ट ब्रोड र म्याथ्यु पोट्स दुई–दुई तथा जेम्स एण्डरसन र ज्याक लिचले एक–एक विकेट लिए ।
त्यसअघि बर्मिङ्घमस्थित एजब्यास्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो पारीमा सबै विकेट गुमाउँदै ४१६ रन बनाएको थियो ।
भारतका लागि ऋषभ पन्त र रवीन्द्र जडेजाले शतकीय पारी खेलेका थिए । आक्रामक ब्याटिङ गरेका पन्तले १११ बलमा १९ चौका र चार छक्कासहति १४६ रन बनाए ।
१०४ रनको योगदान दिएका जडेजाले १९४ बलमा १३ चौका प्रहार गरे । जसप्रित बुमराह ३१ रनमा अविजित रहे । इंग्ल्याण्डका लागि जेम्स एण्डरसनले पाँच, म्याथ्यु पोट्सले दुई तथा स्टुआर्ट ब्रोड, बेन स्टोक्स र जो रुटले एक–एक विकेट हात पारे ।
इंग्ल्याण्डले पहिलो पारीमा सबै विकेट गुमाउँदै २८४ रन बनाएको थियो । उसका लागि जोनी बेरिस्टोले शतकीय पारी खेले ।
बेरिस्टोले १४० बलमा १४ चौका र दुई छक्कासहित १०६ रन जोडे । साम बिलिंग्सले ३६, जो रुटले ३१ र बेन स्टोक्सले २५ रन जोडे ।
भारतका लागि मोहम्मद सिराजले चार, जसप्रित बुमराहले तीन, मोहम्मद शामीले दुई तथा शार्दुल ठाकुरले एक विकेट लिए ।
इंग्ल्याण्डको यो जितसँगै पाँच खेलको टेस्ट सिरिज २–२ को बराबरीमा टुंगिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।