१५ दिनपछि ३ वर्षीय बालक अपहरणमुक्त, एक महिला पक्राउ

धनुषा प्रहरीले जनकपुरधामबाट अपहरणमा परेको १५ दिनपछि एक बालकलाई अपहरणमुक्त गराउन सफल भएको छ । 

गत ६ असारमा अपहरणमा परेको भारतको सीतामढी बैरगिनिया प्रखण्ड बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन चौधरीलाई प्रहरीले अपहरणमुक्त गराएको हो । 

बालक अपहरणमा परेको सूचना पाएलगत्तै प्रहरीले खोजतलाश गर्दै जाँदा महोत्तरीको पिपरा गाउँपालिका–४ बाट मंगलबार फेला पारेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । 

एसपी रजौरेले बालकको अपहरणमा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने ५५ वर्षीया मैथुन खातुनलाई पक्राउ गरिएको समेत बताए । 

गत असार ६ गते साँझ जनकपुरधामस्थित भ्रमरपुरा चोकमा बालक खेलिरहेको बेला उनलाई एक महिलाले आफूसँगै लगेको सिसिटिभी फुटेज फेला पारेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो । 

अनुसन्धानको क्रममा अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकी खातुनले छोरा पाउने लोभमा सोहनलाई अपहरण गरेको हुन सक्ने एसपी रजौरेले बताए । खातुनले १५ दिनसम्म सोहनलाई आफ्नै घरमा राखेकी थिइन् । 



खातुनको छोरा नभएकै कारण उनले सोही लोभमा सोहनको अपहरण गरेको एसपी रजौरेले जानकारी दिए । 

पक्राउ परेकी खातुनविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा लगाएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १९:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया