अटो क्षेत्रलाई राहत दिने मौद्रिक नीति ल्याउन अध्यक्ष थापाको सुझाव

नाडा अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स व्यवसाय बच्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकले दुई दिन अगाडि आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो सुझाव दिएका हुन् ।

उनले विगत ८/१० महिनादेखि अटो व्यवसाय ठप्प रहेको भन्दै अटो क्षेत्रलाई राहत दिने गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताए । अध्यक्ष थापाले विगत १० महिनादेखि अटो व्यवसाय ठप्प हुँदा अटो व्यवसायीहरूले बैंकको कर्जा तिर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले अटोमोबाइल्स सधैँ राज्यको टार्गेटमा पर्ने गरेको गुनासोसमेत गरे । 

अध्यक्ष थापाले सरकारले राजश्वको दर परिवर्तन गर्दा, राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा समेत अटोमोबाइल्स क्षेत्रलाई उकास्ने किसिमको नल्याउने गरेको बताए । उनले सरकारलाई अटोमोबाइल्स क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सुझाव दिए । 

उनले भने, ‘अटोमोबाइल्स क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्छ । विगत १० महिनादेखि हायर पर्चेज गाडीमा ७० देखि ८० प्रतिशतसम्म फाइनान्स हुने गरेको थियो । अहिले ५० प्रतिशतमा झारियो । जोखिम भार ७५ प्रतिशतबाट १५० प्रतिशतमा पुर्‍याइएको छ । त्यस्तै एलसी खोल्दा १० प्रतिशतबाट १०० प्रतिशतसम्म मार्जिन राख्नुपर्ने बनायो । यसलाई लक्षित गरियो । जोखिम भारको कारण बजारमा तरलता सहज हुँदा समेत फाइनान्स नहुने अवस्था देखिएको छ । राष्ट्र बैंकले यो विषय मौद्रिक नीतिमा गरिदियोस् । ८ महिनादेखि अटो व्यवसाय ठप्प छ । ७० देखि ८० प्रतिशत ठप्प रहेको छ । व्यवसायको लागि लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छौँ ।’

अध्यक्ष थापाले गाडीमा जोखिम भारको कारण बजारमा तरलता सहज हुँदासमेत फाइनान्स हुन नसक्ने अवस्था सिर्जना भएको बताए  । उनले अहिले अटो व्यवसाय ७० देखि ८० प्रतिशतसम्म ठप्प रहेको बताएका छन् । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १३:२१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया