आरक्षणको दुरुपयोग : लोकसेवामा पनि देखिए नक्कली आदिवासी
‘गैर–आदिवासी/जनजातिले आरक्षण सुविधा लिएको भेटिए कारबाही हुन्छ’

२०७३ मा लोकसेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले सार्वजनिक गरेको पाचौँ तहअन्तर्गत हेल्थ असिस्टेन्ट पदको नतिजा देखेर डोटीको पुर्वीचौकीका धेरै स्थानीय अचम्ममा परे । नतिजा देखेर स्थानीय अचम्ममा पर्नुको कारण गाउँका एकजना क्षेत्रीले आदिवासीको आरक्षणमा हेल्थ असिस्टेन्टको पदमा नाम निकालेका थिए । 

झण्डै ८ सय घरधुरी रहेका क्षेत्री धानुकमध्ये एक जनाले आदिवासी/जनजातिको प्रमाणपत्र बनाएर आरक्षणमा लोकसेवा उत्तिर्ण गरेपछि गाउँले चकित थिए । ०७३ मा मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले हेल्थ असिस्टेन्ट पदको लागि आदिबासी जनजाति आरक्षण अन्तर्गत ४२ जनाको लागि दरखास्त आह्वान गर्याे । जसमध्ये डोटीका बलबहादुर धानुक २५ औँ स्थानमा सिफारिस भए । 

११४ जना सम्मिलित परीक्षामा गैर–आदिवासी डोटीका धानुक उत्तिर्ण हुँदा  रौतहटका आदिवासी–जनजाति अरवीन्दकुमार चौधरी, चितवनका भक्तबहादुर गुरुङ, दोलखाका प्रशान्त तामाङलगायत ९ जना योग्यताक्रमको वैकल्पिक सूचीमा परे ।  

बलबहादुर धानुक सिफारिस भएको लोकसेवा आयोगको ५ कात्तिक २०७३ को सिफारिस पत्र

यहाँका धानुक क्षेत्री हुन् : गाउँपालिका अध्यक्ष 

पुर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले आफ्नो गाउँपालिकामा बसोबास गर्ने धानुक थर भएका बासिन्दा क्षेत्री धानुक भएको बताए । पुर्वीचौकीमा आदिवासी–जनजाति धानुक नभएको उनको प्रतिक्रिया छ । गाउँपालिकामा धानुकहरूको बाक्लो बस्ती भए पनि आदिवासी–जनजाति प्रमाणित गर्ने सिफारिस कसैलाई पनि नदिइएको अध्यक्ष उपाध्यायको भनाइ छ । 



‘यहाँका धानुक आदिवासी/जनजातिमा पर्दैनन् । उनीहरू विशुद्ध क्षेत्री हुन् । हामी निर्वाचित भइसकेपछि गाउँपालिकाबाट कसैलाई आदिवासी–जनजातिको सिफारिस दिएका छैनौं । विगतमा कसले के गरे त्यो त थाहा भएन । तर, यसरी  आरक्षणको दुरुपयोग गर्नु उचित होइन,’ गाउँपालिका अध्यक्ष उपाध्यायले भने । 

पूर्ववडाध्यक्ष नै अचम्ममा 



पूर्ववडाध्यक्ष पदम धानुक पनि सोही वडाका बासिन्दा हुन् । उनको वडामा अहिले करिब साढे ८ सय घरधुरी धानुक परिवारको बसाइ छ । धानुकको बाक्लो बसोबास भएको उक्त वडामा सबै क्षेत्री धानुक रहेको उनको भनाइ छ । ‘मेरो वडामा ८ सय ५० घरधुरी धानुकहरूको छ । गाउँभरी हजारौँ क्षेत्री धानुकमध्ये बलबहादुर मात्रै कसरी आदिवासी जनजाति भए आश्चर्य लाग्दो छ,’ उनले भने ।  

पदमले आफू वडाध्यक्ष हुँदा कसैलाई पनि आदिवासी–जनजाति प्रमाणित गर्नको लागि वडाबाट सिफारिस नदिएको र कोही पनि सिफारिस माग्न नआएको बताए । ‘हाम्रा पुर्खाहरू बैतडीबाट आएका हुन् भन्ने सुनिन्छ । पूर्वी तराईतिर बसोबास गर्ने राजवंशी धानुकसँग हाम्रो परम्परागत, भाषिक, धार्मिक कुनै सम्बन्ध छैन । हाम्रो भाषा भेगीय डोटेली भाषा हो । अरू सुदूरपश्चिमेली जस्तै हामी पनि दसैँ–तिहार, बिसु, माघी मान्ने हाम्रो पुरानो परम्परा हो । माघीमा पुतला पर्व मनाउँछौँ,’ धानुकले भने ।

पुर्वीचौकी गाउँपालिका–५ साविक काडामाण्डौ गाविस–५ र ०६ मिलेर बनेको हो । यो वडामा क्षेत्री, बाहुन, दलित र आले मगरको बसोबास छ । क्षेत्रीमध्ये धानुक थर भएका क्षेत्रीको बसोबास बढी छ । 

‘गैर–आदिवासी/जनजातिले आरक्षण सुविधा लिएको भेटिए कारबाही हुन्छ’  

लोकसेवा आयोगका प्रवक्ता तोयानारायण सुवेदीले गैर–आदिवासी जनजातिले आरक्षण सुविधा लिएको भेटिएमा कारबाही हुने बताएका छन् । ‘आरक्षण गलत फाइदा उठाएको गुनासो हामीसँग पुगेको छैन, कसैले उजुरी गरेको खण्डमा निवेदन उपर छानविन गरी कारबाही अगाडि बढाउँछौँ,’ उनले फरकधारसँग भने । 

लोक सेवा आयोगको दफा १४ को उपदफा (३) अनुसार आयोगको विज्ञापन बमोजिमको परीक्षामा उम्मेदवार हन कुनै व्यक्तिले पेस गरेको कुनै विवरण झुटो वा गलत प्रमाणित भएमा आयोगले त्यस्तो उम्मेदवारको दरखास्त वा परीक्षा वा अन्तर्वार्ता वा नियुक्तिको सिफारिस रद्द गर्न सक्नेछ । र, निजले नियुक्ति पाइसकेको भए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही चलाउन सम्बन्धित निकायमा सिफारिस पठाउन सक्नेछ । 

कसले गर्न सक्छ आयोगमा उजुरी?

आयोगका प्रवक्ता सुवेदीका अनुसार कुनै पनि नेपाली नागरिकले गैर–आदिवासी जनजातिले आरक्षण सुविधा लिएको भेटिएमा उजुरी दिन सक्छन् । आयोग मातहतका सातै प्रदेश कार्यालय वा केन्द्रीय कार्यालयमा उजुरी गर्न सकिने सुवेदीले बताए । उजुरी परेर विवरण ढाँटेको पुष्टि भएको खण्डमा वैकल्पिक सूचीमा परेका उम्मेदवारले नियुक्ति पाउने सम्भावना रहन्छ ।    

शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख केशवप्रसाद दाहालले आयोगमा त्यसरी गैर–आदिवासी सिफारिस भएको पाइएमा छानविन गरिने बताए । सरोकारवाला कुनै पनि व्यक्तिले त्यस विषयमा आयोगमा उजुरी गरेको खण्डमा कारबाही गरिने उनको भनाइ छ ।

यो पनि– शिक्षक सेवा आयोग : थर मिलेको फाइदा उठाउँदै गैरआदिवासी/जनजातिले लिँदै आरक्षण सुविधा

  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १३:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया