काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वाइडबडी प्रकरणमा ठूला दलका शीर्ष तहका नेता नै संलग्न भएकाले यो काण्ड पनि निष्कर्षमा नपुगी सकिने दाबी गरेका छन् ।
बुधबार पार्टीले गरेको पत्रकार सम्मेलनमा संयोजक भट्टराईले एक डलरको कम्पनी खडा गरी २५ अर्बको कारोबार हुनुमा स्वतः भ्रष्टाचार गर्ने नियत भएको टिप्पणी गरे ।
‘न्यारोबडी जहाज खरिद गर्दा सार्वजनिक खरिद ऐनको दफा २३६ (१) अनुसार किनिएको थियो,’ वाइडबडी प्रकरणबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले भने, ‘बिचौलिया खडा गर्न दफा २३६ (२) लागू गरी भ्रष्टाचार गरियो ।’
नेपालमा भ्रष्टाचारको ठूलो पहाड भएको र त्यो कहिले ऐनसेल भएर देखा पर्ने त कहिले बुढीगण्डकी भएर देखिने भट्टराईको टिप्पणी थियो ।
१२ वर्षदेखि लाउडा प्रकरणमा फैसला हुन नसेककोमा समेत उनले कटाक्ष गरे । ‘९५ पटक सुनुवाइ सरेको छ । १२ प्रधानन्याधीश बने । किन छिनिएन ?’ संयोजक भट्टराईले प्रश्न गरे ।
ठूला भ्रष्टाचार काण्डमा सबैको मिलेमतो हुने हुँदा त्यसको कहिल्यै टुंगो नलाग्ने उनले ठोकुवा गरे । सबै दल सम्मिलित संसदीय समिति बनाए मात्र वाइडबडी प्रकरणको टुंगो लाग्न सक्ने आशा रहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।