बेलायतको प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनको राजनीति भविष्य पहिलेभन्दा ठूलो जोखिममा छ । यौन दुर्व्यवहारको आरोप लागेका कन्जरभेटिभ सांसदबारे प्रधानमन्त्रीको ‘ह्यान्डलिङ’ लाई लिएर मंगलबार स्वास्थ्यमन्त्री र अर्थमन्त्रीले १० मिनेटको अन्तरमा राजीनामा दिएपछि महिनौंदेखिको राजनीतिक अस्थिरता बुधबार आएर अचानक बढेको थियो ।
बुधबार साँझसम्म कनिष्ठ मन्त्री र सांसदहरूको राजीनामा र अविश्वासको पत्रको ‘बाढी’ आएको थियो । बुधबार साँझ नै वरिष्ठ मन्त्रीहरूको एउटा समूह प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट पुगेर प्रधानमन्त्री जोनसनलाई राजीनामा दिन कर गरे । तर, पछिल्लो चुनावमा मतदाताहरूबाट पाएको ‘ठूलो जनादेश’ सम्मान गर्दै आफूले राजीनामा नदिने अडान लिए । बरु, राजीनामा दिन सुझाव दिने एक मन्त्रीलाई नै प्रधानमन्त्रीले बर्खास्त गरे ।
वेस्टमिनिस्टरमा त्यो मदिरा रात...
एक साताअघि कन्जरभेटिभ सांसद क्रिस पिन्चरले कार्लटन प्राइभेट मेम्बर्स क्लबममा आयोजित मदिरा पार्टीपछि ह्विपको भूमिकाबाट राजीनामा दिएका थिए ।
राजीनामा पत्रमा क्रिस पिन्चरले आफूले ‘धेरै पिएको’ र यसले आफू र मानिसहरूलाई लज्जित तुल्याएको प्रधानमन्त्रीलाई बताएका छन् । तर, विषय धेरै गम्भीर थियो । एक निजी सदस्यको क्लबमा दुई पुरुषलाई समातेको पिन्चरमाथि आरोप छ । उनले कम्तिमा एकजनालाई कम्मर र तिघ्राको बीचमा छोएको बताइएको छ ।
त्यसपछि दुईवटा घटना भएका थिए । पिन्चरले आफूले नराम्रो व्यवहार गरेको महसुस गरेकाले उनलाई संसदबाट बर्खास्त गर्नु नपर्ने र उनलाई कारबाहीको नगर्ने सरकारले सञ्चार माध्यममा ब्रिफिङ गर्यो ।
दुर्व्यवहार गर्ने सांसदलाई बचाउ गरेपछि कन्जरभेटिभ सांसद प्रधानमन्त्रीसँग क्रुद्ध बनेका थिए । पिन्चरविरुद्ध विगतमा पनि यौन दुर्व्यवहारको यस्तै आरोप लागेको थियो । यद्यपि, जोन्सनले उनलाई पार्टीको उपप्रमुख सचेतकको रूपमा राखिरहे ।
पछिल्लो मदिरा रातमा भएको यौन दुर्व्यवहारको खुलासा प्रसिद्ध पत्रिका सनकी राजनीतिक पत्रकार नोआ होफम्यानले बिहीबार सार्वजनिक गरेकी थिइन् । २४ वर्षीया होफम्यान सो खुलासा गर्नु चार दिनअघि मात्र राजनीतिक पत्रकारका रूपमा सनमा नियुक्त भएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।