माओवादीले जनार्दनको स्थानमा कसलाई बनाउला अर्थमन्त्री ?

सर्वत्र विरोधपछि विरोधपछि अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिए । अनाधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्दै प्रतिपक्षी दलको विरोधपछि शर्माले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । 

उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समितिसमेत गठन भएको छ । जनार्दनमाथि अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सिसिटिभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि आरोप लागेको छ ।

पाँच दलीय सत्ता गठबन्धनमा अर्थमन्त्रालय माओवादी केन्द्रको भागमा छ । आगामी संघ र प्रदेशको चुनावसम्मै गठबन्धनलाई निरन्तरता दिने सत्ता साझेदार दलहरूको चाहना भएकोले अर्थमन्त्रालय माओवादीकै भागमा हुनेछ । जनार्दनको राजीनामापछि अब अर्थमन्त्री कसलाई बनाउने भन्ने विषयमा माओवादीभित्र छलफल हुन थालेको छ ।

संसदीय छानविन समितिले १० दिनभित्र प्रतिवेदन पेस गर्न समय राखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको एकजना कांग्रेस नेताले बताए । माओवादीले जनार्दनलाई नै ‘क्लिन चिट’ दिएर अर्थमन्त्रीमा दोहोर्याउन सक्ने ती नेताको विश्लेषण छ । 

माओवादीभित्र वर्षमान पुन र जनार्दन शर्मा महासचिवको लाइनमा छन् । अब माओवादीले अर्थमन्त्रीमा कसलाई अगाडि बढाउने भन्ने विषयमा  पार्टीभित्रको राजनीतिले पनि प्रभाव पार्ने अनुमान छ । ​वर्षमानलाई महासचिव बनाउने शर्तमा जनार्दनलाई अर्थमन्त्रीमा निरन्तरता दिने बार्गेनिङ हुनसक्ने माओवादीका एक जना नेताले बताए । 

‘पार्टीभित्र अहिले स्थायी, समिति, पोलिटब्युरो, महासचिवलगायतको पदाधिकारी चयनको छलफल भइरहेको छ । जनार्दन शर्मा, वर्षमान पुन र देव गुरुङ महासचिवका आकांक्षी हुन्,’ तीन नेताले भने, ‘वर्षमान पुनसँग पार्टीभित्र बलियो संगठन छ । त्यसकारण जनार्दन शर्मालाई अर्थमन्त्रीमा पठाउन महासचिवको लागि बार्गेनिङ हुनसक्छ । यद्यपि त्यसको थप निर्धारण छानविन समितिको प्रतिवेदनले गर्नेछ ।’



पूर्वअर्थमन्त्री समेत रहेका पुनले शर्मामाथि छानबिन नसकिँदासम्म अर्को व्यक्ति नपठाउने बताएका छन् । ‘अहिले छानबिनका लागि उहाँले मार्गप्रशस्त गर्नुभएको हो । राम्रो कुरा हो छानबिन हुन्छ । उहाँ निर्दोष छु भन्नु भएको छ । उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे हामी पठाउँदैनौँ,’ बुधबार उनले भनेका थिए ।

पुन नम्र बोल्ने तर कुटिल चाल चल्ने स्वभावका रूपमा चिनिन्छन् । जनार्दन निर्दोष भए निरन्तरता दिने भने पनि उनले महासचिवका लागि बार्गेनिङ गर्ने माओवादी पंक्तिको विश्लेषण छ ।



‘माओवादीभित्र प्रचण्डले जे चाह्यो त्यहि हुने हो । मुख्य प्रतिस्पर्धी जनार्दन र वर्षमान नै हुन् । महराको पोलिटिकल करियर नै सिद्याइसक्यो । महरा नेता हुन् र राजनिति गर्छन् भन्ने मात्रै छ । जनार्दनको पनि एक ढंगले राजनिति सक्काइदिएकै हुन् तैपनि कसरी राजनीति अगाडि बढ्छ हेर्दै जाउँ,’ माओवादीनिकट एक अधिवक्ताले भने ।

  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार ९:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया