करोडौँको ठेक्कापट्टा गर्दै सडक डिभिजन कार्यालयका कर्मचारी
सडकको निरीक्षण गर्ने जिम्मेवारी पाएका जोशी अस्पताल भवन निरीक्षण गर्दै

सडक डिभिजन कार्यालय बैतडीमा जागिर खाने एक कर्मचारी बझाङमा ठेक्कापट्टा गरिरहेको खुलेको छ । विधि विधान, नियम कानुनको ठाडो उलङ्घन गर्दै बझाङमा करोडौँका पेटी ठेकेदार भएका छन् सडक डिभिजन कार्यालयका कर्मचारी नरेन्द्र जोशी ।

छबिसपाथिभेरा गाउँपालिकाले निर्माण गरिरहेको अस्पतालको लागत १२ करोड रहेको छ । अस्पताल निर्माण गर्ने ठेक्का जागृति निर्माण सेवाले पाएको छ । जागृति निर्माण सेवाले निर्माण गरिरहेको अस्पतालको पेटी ठेकेदार भने सडक डिभिजन कार्यालय बैतडीका सुपरभाइजर नरेन्द्र जोशी हुन् । 

छबिसपाथिभेरा गाउँपालिकाले निर्माण गरिरहेको अस्पतालको पेटी ठेकेदार भएर जोशी झन्डै दुई महिनादेखि काम गरिरहेका छन् । जोशीको कार्यक्षेत्र भाँडेबगर (८४) किलोमिटरदेखि चैनपुर (१०८) किलोमिटरसम्म निरीक्षण गर्ने हो । भाँडेबगरदेखि चैनपुरसम्मको सडक खण्ड काम गर्ने कर्मचारीलाई नियमित काममा खटाउने, अनुगमन गर्ने, सडकको सरसफाइ गर्ने तथा सामान्य मर्मत सम्भार गर्ने जिम्मेवारी जोशीलाई तोकिएको छ । 

तर, सुपरभाइजर जोशी भने सडक खण्डबाट करिब २० किलोमिटर उत्तर छबिसपाथिभेरा गाउँपालिकाको कार्यालय नजिकै जस्ताको छाप्रो बनाएर बसेका छन् । सडकको निरीक्षण गर्ने जिम्मेवारी पाएका जोशी अस्पतालको भवन निरीक्षण गर्दै छन् । अस्पताल निर्माणमा संलग्न कर्मचारीलाई काममा लगाउने काममा व्यस्त छन् आजकाल जोशी । 

तस्बिर : जोशीले बस्नका लागि बनाएको जस्ताको टहरा 

सडक डिभिजन कार्यालय बैतडीका सिनियर डिभिजन इन्जिनियर रमेश चौधरीलाई आफ्ना कर्मचारी कहाँ के गरिरहेका छन् अत्तोपत्तो छैन । जोशी जस्तै सडक सुपरभाइजर १ सय २० जना रहेको उनले बताए । सुपरभाइजरले फिल्डमा काम गर्ने र हाजिरी बुझाएर तलब खाने भएकाले नियमित कार्यालय आउन नपर्ने उनको भनाई छ । 



सडक डिभिजन कार्यालय बैतडीमा कार्यरत १ सय २० जना सुपरभाइजरले तोकिएको काम गरिरहेका छन् कि छैनन् त्यसको अवलोकन कसैले नगरेको भेटिएको छ । सरकारको ‘नुन खाएर’ निजी काम गर्ने जोशी त एउटा उदाहरण मात्रै हुन् । अधिकांश कर्मचारीले जिम्मेवारी भन्दा बाहिर काम गरिरहेको जानकारहरू बताउँछन् । 

यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत सडक विभागका अधिकारी प्रभात झाले नेपाल सरकारको कर्मचारीले निजी काम गर्न नपाइने बताए । उनले भने, ‘निजामती कर्मचारीले अनुशासनमा रही आफ्नो कर्तव्य इमानदारी र तत्परताको साथ पालन गर्नुपर्दछ । निजामती कर्मचारीले अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्नु हुँदैन ।’



  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १२:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया