जालेबगरमा सडक बन्यो, सञ्चालनको तयारीमा जयपृथ्वी राजमार्ग

अवरुद्ध भएको जय पृथ्वी राजमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत कार्तिक महिनामा आएको वर्षाका कारण आएको बाढीले जयपृथ्वी राजमार्ग अन्तर्गतको जालेबगर सडक खण्ड बगाएको थियो । सेती नदीमा आएको बाढीले राजमार्गको करिव ४ सय मिटर सडक बगाएपछि ९ महिना देखी सेती किनारको अस्थायी डाइभर्सनबाट सवारी साधन सञ्चालन भइरहेका छन् । 

सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम चैनपुर लगायत जिल्लाको आधा बढी भूभाग सडक सम्पर्कबाट विच्छेद हुन पुगेको थियो । जस कारण जिल्लामा दैनिक उपभोग्य बस्तुको मूल्यसमेत आकासिएको छ । राजमार्ग अवरुद्ध भएको ठिक एक महिनापछि सेती नदीको धार परिवर्तन गरी अस्थायी रूपमा खोलिएको डाइभर्सनबाट यातायात सञ्चालन गरिएको थियो । गत पुस महिनामा सडक सञ्चालनका लागी भन्दै सडक डिभिजन कार्यालय बैतडी मातहत रहेर ठेक्का सम्झौता भयो । 

राजमार्गको जालेबगर खण्ड निर्माणका लागी ड्रागन जगदम्बा सुर्मा सरोवर जेभीले निर्माणको ठेक्का पाएको थियो । निर्माण कार्य थालिएको झन्डै ७ महिनापछि सडक सञ्चालनमा आउने सङ्केत देखिएको छ ।  भत्किएको ४ सय मिटर सडक मध्ये १ सय मिटर सडक कडा चट्टान भएका कारण समयमा नै विस्फोटक सामाग्री उपलब्ध नहुँदा समय लागेको थियो । जस कारण केही ढिला भएको कम्पनीका सञ्चालक शेरबहादुर बोहराले बताए । 

‘सरकारले समयमा नै विस्फोटक सामाग्री उपलब्ध गराइदिएको भए वैशाखको पहिलो साता नै सडक सञ्चालनमा आइसक्थ्यो । ढिलो गरी मात्रै विस्फोटक पदार्थ उपलब्ध हुँदा लामो समय सडक कटानको कार्य प्रभावित भयो,’ बोहराले भने ‘दिन रात नभनेरै भए पनि समयमा नै सडक कटान कार्य सकिने भयो । सबै काम सकिएको छ । अबको एक दुई दिनमा नै सडकमा गाडी गुडाउन मिल्ने हुन्छ । सडकलाई लेबल दिन र फिनिसिङ गर्न मात्रै बाँकी रहेको छ ।’ 

सडक निर्माणका लागी ड्रागन जगदम्बा सुर्मा सरोवर जेभीले १ करोड ५ लाखमा ठेक्का पाएको थियो ।  





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १३:५२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया