नक्कली आदिवासी/जनजाति शिक्षक-कर्मचारीविरुद्ध उजुरी दिने तयारी

निजामती सेवा र शिक्षक सेवा आयोगमा आदिवासी/जनजातिको आरक्षणबाट सरकारी सेवा लिनेविरुद्ध छानबिनका लागि उजुरी दिने तयारी भएको छ । एक अधिवक्ताले विवरण ढाँटेर आरक्षणको दुरुपयोग गर्ने व्यक्तिका विरुद्ध शिक्षा मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, शिक्षक सेवा आयोग, लोकसेवा आयोग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरेको जानकारी दिए । 

‘विवरण ढाँटेर आरक्षणको दुरुपयोग गर्नु अपराध हो । यस्ता क्रियाकलाप हामीले हेरेर बस्नु हुँदैन । फरकधार अनलाइनमा प्रकाशित समाचारमा मेरो ध्यानाकर्षण भएको छ । शिक्षक सेवा आयोग र लोक सेवा आयोगमा विवरण ढाँटेर सरकारी सेवा प्रवेश गर्ने व्यक्तिहरूका विरुद्ध शिक्षा मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, शिक्षक सेवा आयोग, लोकसेवा आयोग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिने तयारी गरेको छु,’ तत्काल नाम नखुलाउने सर्तमा ती अधिवक्ताले भने ।

फरकधारले २१ असारमा ‘शिक्षक सेवा आयोग : थर मिलेको फाइदा उठाउँदै गैरआदिवासी/जनजातिले लिँदै आरक्षण सुविधा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । लगत्तै २२ असारमा ‘आरक्षणको दुरुपयोग : लोकसेवामा पनि देखिए नक्कली आदिवासी’ शीर्षकमा पनि फरकधारमै समाचार प्रकाशित भएको थियो । 

आरक्षणको दुरुपयोग गरेको व्यहोरा उजुरी परेको खण्डमा त्यसको छानबिन गरिने शिक्षक सेवा आयोग तथा लोक सेवा आयोगका अधिकारीहरूले बताएका थिए । जसअनुरूप एकजना अधिवक्ताले उजुरी दिने तयारी गरेका हुन् । 

२०७० को शिक्षक सेवा परीक्षामा सुदूरपश्चिमका तीन र मध्यपश्चिमका एकजना गैर–आदिवासी/जनजातिले थर मिलेकै भरमा आरक्षणको सुविधा लिएका थिए । सो वर्षको शिक्षक आयोगको परीक्षामा बझाङको छबिसपाथिभेरा गाउँपालिका–४ का कुम्भ राना, उनका भाइ कृष्ण राना र बैतडीको पुर्चाैडी नगरपालिका–६​ का विष्णुबहादुर धानुकले थर मिलेकै भरमा आरक्षणको सुविधा लिएका हुन् ।

त्यस्तै, प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङ्गेमरोटका जितबहादुर रोकाले पनि ०७० मै नक्कली गैर–आदिवासी/जनजातिको प्रमाणपत्र बनाएर आरक्षणको सुविधा लिएका थिए । यदि छानबिन भएमा आरक्षणको सुविधा लिने गैर–आदिवासी/जनजाति कर्मचारी वा शिक्षक बर्खास्त हुने सम्भावना बढी छ । 



शिक्षक सेवा आयोग नियमावलीको नियम २६ मा यस्तो अवस्थामा दरखास्त रद्द वा सिफारिस बदर हुने भन्ने व्यवस्था छ । जसअन्तर्गत उपनियम (३) मा भनिएको छ, ‘कुनै उमेदवारले झुटो विवरण दिएको कुरा त्यस्तो उमेदवार सिफारिस गरिएको पदमा नियुक्ति भइसकेपछि थाहा हुन आएमा आयोगले निज उपर विभागीय कारबाहीका लागि सम्बन्धित अधिकारीसमक्ष लेखी पठाउनु पर्नेछ ।’

त्यस्तै, डोटीको पुर्वीचौकीका गाउँपालिका–५ का बलबहादुर धानुकले नक्कली आदिवासी–जनजाति बनेर २०७३ मा पाचौँ तहअन्तर्गत हेल्थ असिस्टेन्ट पदमा नाम निकालेका थिए । ११४ जना सम्मिलित परीक्षामा गैर–आदिवासी डोटीका धानुक उत्तिर्ण हुँदा  रौतहटका आदिवासी–जनजाति अरवीन्दकुमार चौधरी, चितवनका भक्तबहादुर गुरुङ, दोलखाका प्रशान्त तामाङलगायत ९ जना योग्यताक्रमको वैकल्पिक सूचीमा परेका थिए ।  



लोक सेवा आयोगको दफा १४ को उपदफा (३) अनुसार आयोगको विज्ञापन बमोजिमको परीक्षामा उम्मेदवार हन कुनै व्यक्तिले पेस गरेको कुनै विवरण झुटो वा गलत प्रमाणित भएमा आयोगले त्यस्तो उम्मेदवारको दरखास्त वा परीक्षा वा अन्तर्वार्ता वा नियुक्तिको सिफारिस रद्द गर्न सक्नेछ । र, निजले नियुक्ति पाइसकेको भए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही चलाउन सम्बन्धित निकायमा सिफारिस पठाउन सक्नेछ । 

यो पनि– शिक्षक सेवा आयोग : थर मिलेको फाइदा उठाउँदै गैरआदिवासी/जनजातिले लिँदै आरक्षण सुविधा

यो पनि–  आरक्षणको दुरुपयोग : लोकसेवामा पनि देखिए नक्कली आदिवासी

  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १४:७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया