राउटे युवती माथि यौन दुर्व्यवहार गर्ने दुई व्यक्तिलाई सात वर्ष कैद सजाय तोकिएको छ । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको ठहर गर्दै सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का चौमन घर्तीमगर र भूपेन्द्र बुढामगरलाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।
गत वर्षको जेठमा दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएसँगै प्रहरीले उनीहरूलाई गत वर्ष २०७८ जेठ २३ गते पक्राउ गरेको थियो ।
यसका साथै यौन दुर्व्यवहार घटना भएको होटलका सञ्चालकलाई समेत अदालतले तीन वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको छ । होटेल सञ्चालक मनबहादुर पुनलाई कैद र जरिवानासहित पीडित राहत कोषमा चार हजार रुपैयाँ समेत जम्मा गर्नुपर्ने अदालतको फैसला रहेको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए ।
मुख्य अभियुक्तहरूलाई समेत पीडित राहत कोषमा जनही आठ हजार रुपैयाँ जम्मा गर्नु पर्ने अदालतको फैसला रहेको रावलले बताए । बिहीबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले सो फैसला गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।