२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

पूर्वराजा ज्ञानेन्द्रले सम्बोधन गरेको ड्राफ्ट आफूले लेखेको दाबी गर्दै ओलीले भने - देउवामा हुत्ती छैन [भिडियो]
'देशको चाबी लिएर ढुकुटी लुट्ने गठबन्धन सरकार अविलम्ब हट्नुपर्छ'

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान ५ दलीय गठबन्धन सरकार अविलम्ब हट्नुपर्ने बताएका छन् ।


शुक्रवार छवि कार्कीको १२ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाए । 



उनले भने ‘यो सरकारको के काम ? लाज छैन, मल दिन सकेको छैन ? देशको अर्थतन्त्र यस्तो बनाएको छ । देशको साँचो लिएरै ढुकुटीमा गएर लुट्ने । यो सरकारको काम छैन । यो सरकार अविलम्ब हट्नुपर्छ ।' 

अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भए पनि अहिलेको सरकार तमासा देखाएर बसेको बताए । उनले गठबन्धनको सरकारलाई अब स्वीकार्न नसकिने उल्लेख गर्दै गठबन्धन सरकार नराम्रा कामको थुप्रो भएको बताए । 



अध्यक्ष ओलीले गठबन्धन सरकार नालायक र भ्रष्ट रहेको भन्दै सरकार आफैँ नहटे जनताले टिपेर मिल्काउनु पर्ने बताए । उनले नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवामा गलत गर्नेलाई कारबाही गर्ने हुत्ती नरहेको बताए । 

उनले अर्थमन्त्री जनार्दन शर्माले आफैँ राजीनामा दिएको तर राजीनामा नदिएको भए पनि कारबाही गर्ने आँट प्रधानमन्त्रीमा नरहेको बताए । 

'कांग्रेस त निरीह अब बोल्नै नसक्ने ? मन्त्रीले जस्तो गरे पनि कांग्रेस त हरेको हेर्‍यै । कांग्रेससँग केही कदम चाल्ने दम र हुत्ती नै छैन । विचारै छैन’ उनले भने ।

अध्यक्ष ओलीले माओवादीले अनुपयक्त समयमा हतियार उठाएकै कारण हजारौं युवा शक्ति विदेश जानुपर्ने बाध्यता सिर्जना भएको बताए । उनले प्रचण्ड पथ भनेको देशलाई भड्खारोमा लाने पथ भएको आरोप लगाए । 



उनले मन्त्रालयमा सचिवले बजेट बनाउन नपाउने तर व्यापारीका मान्छे ल्याएर करका दर र अन्तः शुल्क तय हुनु देश गम्भीर संकटतर्फ उन्मुख भएको प्रमाण रहेको बताए । 

अध्यक्ष ओलीले शान्त वातावरणमा देश चलाउनसक्ने प्रमाणित एमालेले गरिसकेको बेलामा माओवादी भन्दै हतियार उठाउनुको तुक नरहेको जिकिर गरे । उनले माओवादी सशस्त्र द्वन्द्व केही सिमित व्यक्तिहरुको चाहना पूर्तिका लागि मात्रै लडिएको दाबी गरे । 

अध्यक्ष ओलीले १० वर्षे सशस्त्र द्वन्द्व भनेर हतियार उठाउनुको खास कारण के हो भन्दै प्रश्नसमेत गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका राजनीतिक कार्यकर्ता मार्नका लागि हतियार उठाएको आरोप लगाए । 

उनले अध्यक्ष दाहालले सशस्त्र द्वन्द्वको बेलामा उठाएका हतियारको खास कारण के थियो त्यसको उत्तर दिन चुनौती दिए । पेरुका माओवादीले ३५ हजार आफ्नै कार्यकर्ता मारेर आन्दोलन स्थगित गरेको उल्लेख गर्दै नेपालका माओवादीले भने एमाले, कांग्रेस र कम्युनिष्ट तथा प्रहरी र सेनाहरु मारेको बताए । उनले माओवादीको सशस्त्र द्वन्द्वको लक्ष्य छोटो बाटोबाट चाँडै सरकारमा पुग्ने लक्ष्य मात्र भएको दाबी गरे ।

अध्यक्ष ओलीले जनयुद्धका नाममा माओवादीले गरेको हिंसा जनयुद्ध नभएको दाबी गरे । उनले निहीत स्वार्थका लागि र केही व्यक्तिको स्वार्थका लागि, कसैको इसारामा, कतैको योजनामा, नेपाली जनताको जीवनमाथि खेलवाड गर्न नेपालमा सशस्त्र द्वन्द्वको नाममा माओवादीले जनहीत विपरितका काम गरेको बताए । 

अध्यक्ष ओलीले माओवादीले शान्ति प्रक्रियामा आइ हतियारको प्रयोग छोडेँ भनिसकेपछि पनि नेकपा एमालेका तत्कालीन कार्यकर्ता छवि कार्कीको अमानवीय ढंगले हत्या गरेको उल्लेख गरे । 

अध्यक्ष ओलीले २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतिमा पार्टीले तयार पारेको ड्राफ्ट भएको र पार्टी कार्यालय बल्खुमा बसेर आफैँले उक्त ड्राफ्ट तयार गरेको दाबी गरे ।

भिडियो 

  • प्रकाशित मिति : २४ असार, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया