हत्या गरिएका विश्वका चर्चित नेताहरू

राष्ट्रपति, प्रधानमन्त्री, राजा वा अन्य विश्व नेताको हत्याले देशलाई मात्र होइन विश्वलाई नै स्तब्ध बनाउँछ । शुक्रबार​ जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याले संसार स्तब्ध भएको छ । आबेको निधनमा नेपाल सरकारले समेत शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । 

आबेको गोली प्रहार गरी हत्या भएको निन्दनीय कार्यको सरकारले घोर भर्त्सनासमेत गरेको छ । सरकारले उनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र आबेको परिवारजनप्रति समवेदना प्रकट गरेको छ । 

जापानको दक्षिणपश्चिम नारा सहरमा चुनावी भाषणका क्रममा आबेमाथि ४१ वर्षीया तेत्सुया यामागामी गोली प्रहार गरेका थिए । गोली लागेरढलेका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा आबेको निधन भएको घोषणा अस्पतालले गरेको थियो । उनको हत्याले अहिले पनि विश्वका चर्चित नेताहरू पनि पूर्णरूपमा सुरक्षित नभएको प्रस्ट पारेको छ । हुन त आबेअघि पनि थुप्रै विश्व चर्चित नेताहरूको विभिन्न तरिकाबाट हत्या भएको छ । 

हत्या गरिएका विश्वका केही चर्चित नेताहरू

अब्राहम लिंकन 



अब्राहम लिंकन संयुक्त राज्य अमेरिकाका १६ औं राष्ट्रपति हुन् । विभेदमा परेका काला जातिको हक अधिकारका लागि लिंकनको योगदान उल्लेख्य मानिन्छ । उनी काला जातिबाट राष्ट्रपति निर्वाचित हुने पहिलो व्यक्ति हुन् । 

तर, उनको निधन कल्पनाविपरीत भयो । १५ अप्रिल १८६५ मा जोन विल्क्स बुथले राष्ट्रपति लिंकनको हत्या गरेका थिए । बुथ दक्षिणी क्षेत्रको कडा समर्थक थिए र दासत्वको वकालत गर्थे र लिंकनप्रतिलाई घृणा गर्थे ।  



हत्या हुनुअघि लिंकन वासिङ्टनको फोर्ड थिएटरमा ‘अवर अमेरिकन कजिन’ नाटक हेरिरहेका थिए । घटनाको समयमा बालकनीमा बसेका उनका सुरक्षा गार्ड जोन पार्कर साथमा थिएनन् । अन्तर्वार्तामै उनी त्यहाँबाट निस्केका थिए । 

राति साढे १० बजे आसपास मौका छोपेर आक्रमणकारी बुथले लिंकनको टाउकोमा पछाडिबाट गोली हानेका थिए । मेजर हेनरी रथबोनले आक्रमणकारी बुथलाई कब्जा गर्ने प्रयास गरे । तर, सफल भएनन् । लिंकनलाई अस्पताल लगियो, जहाँ भोलिपल्ट बिहान उनलाई मृत घोषणा गरियो । त्यसपछि तत्कालीन उपराष्ट्रपति एन्ड्रयु जोन्सनले कार्यवाहक राष्ट्रपतिको रूपमा सपथ लिएका थिए ।  

जोन एफ केनेडी 

जोन एफ केनेडी संयुक्त राज्य अमेरिका ३५ औं राष्ट्रपति थिए । उनी परमाणु परीक्षण प्रतिबन्ध सन्धि र प्रगतिको लागि गठबन्धन जस्ता उपलब्धिहरू संस्थागत गरेर विश्वमाझ लोकप्रिय बनेका थिए । उनी संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुने सबैभन्दा कम उमेरका र पहिलो रोमन क्याथोलिक थिए ।

अमेरिकाको डलासमा मोटरसाइकलमा सवार हुँदा उनको हत्या भएको थियो । केनेडीको हत्यामा ली हार्वे ओसवाल्ड संलग्न थिए । उनले २२ नोभेम्बर १९६३ को राति डिपोजिटरी भवनको छैठौं तल्लाको झ्यालबाट राइफल प्रयोग गरी तीनवटा गोली हानेका थिए । उक्त घटनामा टेक्सासका गभर्नर जोन घाइते भएका थिए ।   

मार्टिन लुथर किङ्ग

मार्टिन लुथर किङ्ग एक जुनियर ब्याप्टिस्ट मन्त्री र सामाजिक कार्यकर्ता थिए । उनले सन् १९५० को मध्यदेखि सन् १९६८ सम्म अमेरिकामा नागरिक अधिकारका लागि आन्दोलनको नेतृत्व गर । उनलाई सन् १९६४ मा नोबेल शान्ति पुरस्कार प्रदानसमेत गरिएको थियो । तर, पछि किङ्गको हत्या भयो ।  

जेम्स अर्ल रेले ४ अप्रिल १९६८ मा टेनेसीको लोरेन होटेलमा उनको हत्या गरेका थिए । त्यसपछि हत्यामा संलग्न रे फरार थिए । उनलाई बेलायतबाट पक्राउ गरिएको थियो ।  

महात्मा गान्धी

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) ब्रिटिस शासनविरुद्ध भारतीय राष्ट्रवादी आन्दोलनका नेता थिए । उनलाई भारतमा राष्ट्रपिताको रूपमा सम्मान गरिन्छ । गान्धी राजनीतिक र सामाजिक प्रगति हासिल गर्न अहिंसात्मक आन्दोलनको सिद्धान्तका लागि अन्तर्राष्ट्रियरूपमा सम्मानित छन् । 

उनी र आफ्ना सहकर्मी जेलमा हुँदा मुस्लिम पृथकतावादले ठूलो बढोत्तरी पाएको थियो । १९२६ को अन्तिममा संवैधानिक व्यवस्थाको छलफल हुँदै गर्दा हिन्दू र मुस्लिमबीचको साम्प्रदायिक दंगा उत्कर्षमा पुगेको थियो । 

३० जनवरी १९४८ मा जब गान्धी दिल्लीमा साँझको प्रार्थना सभामा जाँदै थिए, त्यसैबेला उनलाई एक हिन्दू कट्टरपन्थी नाथुराम गोड्सेले गोली हानेर हत्या गरे । एउटा अदालतले गान्धीको हत्याको एक वर्षपछि गोड्सेलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

उच्च अदालतले उक्त फैसलालाई सदर गरिदिएपछि सन् १९४९ को नोभेम्बरमा उनलाई मृत्युदण्ड दिइएको हो । गोड्सेसँगै उनका साथी नारायण आप्टेले पनि मृत्युदण्ड पाए । अन्य छ जनालाई जन्मकैदको सजाय दिइयो ।

इन्दिरा गान्धी

इन्दिरा गान्धीले लगातार तीन कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा सेवा गरिन् । उनी स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूकी एक्ली सन्तान हुन् । 

३१ अक्टोबर १९८४ मा इन्दिरा आफ्नै अङ्गरक्षकबाट मारिएकी थिइन् । उनको गोली हानी हत्या गरिएको थियो । पाकिस्तानबाट बंगलादेशलाई अलग गराउन र बैंकलाई राष्ट्रियकरण गर्न, भारतलाई परमाणुशक्ति सम्पन्न राष्ट्र बनाउन इन्दिराको योगदान मानिन्छ ।

इन्दिराको हत्यापछि उनका जेठा छोरा राजीव गान्धीलाई भारतको प्रधानमन्त्री बनाइएको थियो । राजीवको पनि चुनावी सभालाई सम्बोधन गर्ने क्रममा १९९१ मा हत्या भएको थियो ।

सम्बोधन गरिरहेका बेला एकजना महिला आत्मघाती आक्रमणकारीले गराएको बम विस्फोटमा गान्धीको ज्यान गएको थियो । उनले सन् १९८७ मा आफू प्रधानमन्त्री रहँदा श्रीलंकामा भारतीय शान्ति सेना पठाएको बदलास्वरूप उनीमाथि बम आक्रमण गरिएको अनुमान लगाइएको थियो ।

दरबार हत्याकाण्ड

नारायणहिटी दरबार हत्याकाण्ड १९ जेठ २०५८ मा भएको थियो । १९ जेठको साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो ।

दीपेन्द्रले परिवारका सदस्यलाई गोलीले उडाएको र पछि आफैंलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि नागरिकले अझै त्यसको विश्वास गरेका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । १९ जेठको त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ ।  

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यको हत्या भएको थियो । उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन ।   

बेनजिर भुट्टो

पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको गोली हानेर नै हत्या भएको थियो । सन् १९८८ र १९९३ मा दुईपटक प्रधानमन्त्री निर्वाचित भएकी उनको २७ डिसेम्बर २००७ मा हत्या भएको थियो । उनी केही वर्ष निर्वासित भएर सन् २००७ मा स्वदेश फर्किएर निर्वाचन अभियानमा संलग्न भएकी थिइन् ।

सोही वर्ष अक्टोबरमा भुट्टोको हत्या गर्ने उद्देश्यले आत्मघाती आक्रमणकारीले उनलाई स्वागत गर्न कराँची विमानस्थलमा भेला भएका समर्थकहरूलाई तारो बताए । सो घटनामा उनी जोगिए पनि १५० भन्दा बढी व्यक्ति मारिए । त्यसको दुई महिनापछि रावलपिन्डीमा भएको आक्रमणमा भने भुट्टोको मृत्यु भयो ।     

  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १०:४४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया