माओवादी स्थायी कमिटी बैठक : चुनावमा अन्तर्घात गर्नेमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय

नेकपा माओवादी केन्द्र स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो । 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले कतिपय केन्द्रीय सदस्यले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको बताए ।

उनले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्वविद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति पनि गठन गरिएको बताए । त्यस्तै, बैठकले प्रदेश कमिटी र केन्द्रबीचमा समन्वय कायम गर्नको निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ । 

‘विगतको स्थानीय चुनावमा पार्टी भित्रैबाट घात अन्तर्घात भयो भन्ने आवाज उठेको हुनाले र कतिपय केन्द्रिय समितिका सदस्यकै बिरुद्धमा पनि कुरा उठेको हुनाले हामीले तीन जनाको छानबिन समिति बनायौँ । त्यसमा टंक राई अनुशासन विभागको संयोजक हुनुहुन्छ । उहाँको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको तीन सदस्यीय छानबिन समिति बनाइएको छ,’ महराले भने, ‘विद्यार्थीमा केही समस्या पैदा भएको छ, त्यसलाई हल गर्न पूर्वविद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जना भएको एउटा हल सुझाव समिति बनाइएको छ । उहाँहरुले सुझाव दिनुहुन्छ, स्थायी कमिटीले निर्णय गर्छ । प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नको निम्ति इञ्चार्जको नेतृत्वमा एउटा प्रदेश समन्वय समिति बनाइएको छ । यो चुनाव सम्मको लागि मात्रै हो ।’ 

आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रीय सदस्यहरू र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता महराले जानकारी दिए । उनका अनुसार बैठकले आगामी १६ साउनदेखि ३ भदौसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठक गर्ने पनि निर्णय भएको छ । 

‘केन्द्रीय सदस्यहरू सबै र प्रदेशका पदाधिकारी सबै रहनुहुन्छ । प्रदेशको प्रशिक्षण कार्यक्रमहरू, बैठकहरू राखेका छौँ । त्यसमा साउन १६ गतेदेखि भदौ ३ गते सकिने गरेर प्रदेशमा राखिएको छ । १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, १ गते सम्पर्क समन्वय, ३ गते प्रवास गरी हामीले प्रदेशको प्रशिक्षण तथा बैठकहरू राखेका छौँ,’ महराले भने । 



उनले पोलिटब्युरो, स्थायी कमिटी, पदाधिकारी चयनमा आइरहेको समस्याको समाधान १५ दिनभित्र भइसक्ने दाबी पनि गरे । 



  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार ११:३४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया