बझाङमा एमालेलाई नेतृत्व गर्न चयन सकस, चार दिनसम्म पनि जुटेन सहमति

नेकपा एमाले बझाङको आठौँ जिल्ला अधिवेशनले अझै नेतृत्व चयन गर्न सकेको छैन । एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरवबहादुर सिंहको अध्यक्षतामा पाँच सदस्यीय गठन गरिए पनि नेतृत्व चयनमा भने ढिलाइ भएको हो ।

जिल्ला अधिवेशनमा ८९५ जना प्रतिनिधि सहभागी छन् । हाल २४५ जना सदस्य रहेको जिल्ला कमिटीलाई खुम्च्याएर ९० सदस्यीय बनाउन लागेकाले पनि नेतृत्व छनोटमा सकस भएको नेताहरूले बताएका छन् । 

९० सदस्यीय जिल्ला कमिटी निर्माण गर्ने भनिएकोमा आकांक्षी धेरै हुँदा नयाँ नेतृत्व छनोट गर्न समस्या भएको हो । जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष दमन भण्डारी, संविधानसभा सदस्य लालबहादुर रावल (एलबी), जयपृथ्वी नगरपालिकाका निवर्तमान प्रमुख वीरेन्द्र खड्काले दाबी गरिरहेका छन् । 

सचिवमा आनन्दलाल विक, नयन बोहरा, लोकेन्द्र सिंह, गोकुल सिंह चर्चामा छन् । उपसचिवमा रामप्रसाद भट्टको दाबी छ । भैरवबहादुर सिहं,  ऐन महर, आशा विक र अफिलाल ओखेडा गरी चारजना केन्द्रीय सदस्य रहेका बझाङमा अघिल्लो कार्यकालमा अध्यक्षमा दमन भण्डारी, उपाध्यक्ष मोहनराज जोशी, सचिव आनन्दलाल विक, उपसचिवमा भागरथी सिंह जिल्ला कमिटीको जिम्मेवारीमा रहेका थिए ।

तलकोट गाउँपालिकाका निर्वतमान अध्यक्ष लालबहादुर विष्ट पनि उपाध्यक्षका लागि आकांक्षी देखिएका छन् । निवर्तमान पदाधिकारीमध्ये दमन भण्डारीलाई पुनः अध्यक्षमा चयन गर्नमा चारै केन्द्रीय सदस्य सहमत छन् । यद्यपि अध्यक्षका अर्का आकांक्षी संविधानसभा सदस्य लालबहादुर रावलले पनि आफ्नो दाबी छोडेका छैनन् । 

अन्य पदाधिकारीमा केन्द्रीय नेताहरूका आफूनिकटका व्यक्ति ल्याउन खोजिरहेको हुँदा सहमति जुट्न ढिलाइ भएको सहभागी प्रतिनिधिले बताएका छन् ।  



एमाले केन्द्रीय सदस्य तथा बझाङ सह इन्चार्ज ऐन महरले आफ्नो एकल निर्णय नभएर सहभागी प्रतिनिधिको सुझावअनुसार जाने बताए । 



  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १३:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया