इस्लाम समुदायले विराटनगरमा यसरी मनाए बकर इद

इस्लाम धर्मावलम्बीहरुले मनाउने दोस्रो ठूलो चाड बकर इद (इद उल अजहा) आइतबार विराटनगरमा पनि हर्षोल्लासका साथ मनाइएको छ । 
 
यसै उपलक्ष्यमा आज बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज (प्रार्थना) गरिएको छ । इस्लाम धर्मावलम्बीको महान् चाड बकर इद रमजान पर्वको ७०औँ दिनमा मनाउने धार्मिक परम्परा छ ।
 
इस्लाम पात्रो हिजरी सम्वत्अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दसौँ दिनमा यो पर्व मनाइन्छ । इदलाई आत्मशुद्धिको पर्वसमेत भनिन्छ । 

यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बीहरू बिहानै नुहाइ–धुवाइ गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्यसपछि नयाँ वस्त्रधारण गर्छन् । यसरी शुद्ध भइसकेपछि मस्जिद वा इदगाहामा पुगेर नमाज पढ्ने प्रचलन यो समुदायमा रही आएको छ । 

मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो । जहाँ परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एकअर्कामा अँगालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् । 

आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको छ । यो पर्वका बेला हैसियत हुने मुस्लिमहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।
    
यस पर्वमा मुस्लिम समुदायले आफ्नो घरमा जनावरको कुुर्बानी (बलि) दिने गर्दछन् भने उक्त कुर्बानीको मासु तीन भाग लगाइन्छ । एक भाग आफ्नो परिवार, एक भाग छिमेकी, इष्टमित्र र एक भाग गरिब तथा दीनदुःखीलाई बाँड्ने गरिन्छ । 

सबैले चाँड पर्व रमाइलो गरी मनाउनका लागि यसरी मासुको भाग लगाइन्छ । इस्लाम धर्मगुरुहरुले कुर्बानी (बलि)को कुनै पनि फोटो तथा भिडियो सामाजिक सञ्जालमा नराख्न आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १८:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया