नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को दोस्रो संस्करण फागुन दोस्रो साता

काठमाडौं– ‘सेलेब्रेसन अफ न्यारेटिभ्स’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ( निफ)को दोस्रो संस्करण फागुन ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सवको घोषणा गरेको हो । 

नेपालको चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले निफ मेला सुरु भएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए । ‘नेपाली फिल्मको स्तरोन्नति गर्नका लागि हामीले लामो लडाइ लड्यौँ । लडाइँ आज पनि जारी छ,’ पाठकले भने, ‘यस दौरानमा धेरै प्रगति हासिल गर्न नसके पनि सबैको साथ शुभकामना र माया पाएको छु, मेरा लागि त्यो नै सबैभन्दा ठूलो कुरा हो ।’

त्यसैगरी, अभिनेता तथा निर्माता नीर शाहले नेपाली सिनेजगत्मा हुने हजारौँ गतिविधिमध्येको निफ महोत्सव पनि एक रहेको बताए । ‘यस्तो महत्वपूर्ण कार्यक्रममा संलग्न हुन पाएकोमा धेरै खुसी छु र संस्था र सबैप्रति आभारी पनि छु,’ शाहले भने । 

महोत्सव घोषणा कार्यक्रममा यादव खरेल, दयाराम दाहाल, सुवास गजुरललगायत फिल्म निर्देशकहरू अतिथिका रूपमा उपस्थित थिए । प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भने कार्यक्रममा उपस्थित नभएको आयोजकले जानकारी गराए । 

पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा यसपटक विभिन्न ३१ राष्ट्रका ५९ वटा चलचित्र प्रदर्शनका लागि अन्तिम छनोटमा परेका छन् । तीमध्ये नेपालका १६ फिल्म समावेश छन् । 

महोत्सवमा समावेश भएका फिल्ममध्येबाट निर्णायक मण्डलबाट मूल्यांकन गरी पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ । अन्तर्राष्ट्रिय विधामध्येबाट सर्वाेत्कृष्ट ठहरिएको एक फिचर फिल्मलाई ट्रफी र नगद एक हजार डलर राशीसहितको पुरस्कार, गौतम बुद्ध  अवार्ड र एक सर्ट फिल्मलाई पाँच सय डलर नगदसहित ट्रफी र माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ । 



त्यसैगरी, नेपाल पानोरामाअन्तर्गतको प्रतिस्पर्धामा रहेका फिल्ममध्ये सर्वोत्कृष्ट ठहरिएको एक फिचर फिल्मलाई नगद पचास हजार र ट्रफी तथा एक सर्ट फिल्मलाई पच्चीस हजार नगदसहित ट्रफी प्रदान गरिनेछ । 

यस्तै, नेपाली पानोरामाअन्तर्गत फिचर फिल्मतर्फ सर्वाेत्कृष्ट निर्देशक र लेखकलाई पनि पुरस्कार प्रदान गरिनेछ । महोत्सवमा नयाँ फिल्मकर्मीलाई अवसर दिने उद्देश्यले प्रतिस्पर्धात्मक कथावाचन कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएको छ । 



भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह र पर्यटन बोर्डको परिसर एवं प्रेक्षालयमा आयोजना हुने यस महोत्सवमा काठमाडौं महनगरपालिका सह–आयोजकका रुपमा रहनेछ । त्यसैगरी, नेपाल सरकार, चलचित्र विकास बोर्ड र पर्यटन बोर्ड सम्वद्र्धकका रूपमा रहनेछन् । महोत्सवको पहिलो संस्करण गत वर्ष पोखरामा सम्पन्न भएको थियो । 

  • प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार १७:५१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया