फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षको भेला काठमाडौंमा सुरु भएको छ ।
पार्टीको संघीय परिषद अध्यक्ष रहेका भट्टराईले पार्टी विभाजनको गृहकार्य स्वरूप भेला गरेको बुझिएको छ । यो भेलालाई संघीय परिषदको विस्तारित बैठक भनिएको छ ।
भेलालाई सम्बोधन गर्दै भट्टराईले आफ्नो पक्षको बैठक वैधानिक भएको जिकिर गरेका छन् । विधानअनुसार अध्यक्ष उपेन्द्र यादवले वीरगंजमा बोलाएको बैठक अवैधानिक भएको भट्टराईको जिकिर छ । उनले जसपालाई हिमाल, पहाड र तराईको साझा पार्टी बनाउने प्रयास गरे पनि अर्को पक्षले नदिएको आरोप लगाए ।
यादवले पार्टीलाई राष्ट्रिय चरित्रको पार्टी बनाउन नदिएको र विभाजनतर्फ लगेर संकट निम्त्याएको भट्टराईको आरोप छ ।
'राष्ट्रिय चरित्रको पार्टी बन्छ भनेर प्रयत्न गरेँ । तर मेरा मित्र उपेन्द्र यादव, उहाँमा भय, शंका के हो, ज्यान गए मान्नुभएन, आजसम्म मान्नुभाछैन । तैपनि हामीले मान्दियौँ, ल भैगयो भनेर मैले मानिदिएँ । साथीहरुले मान्नुभयो । म त गर्नुपर्छ भनिराखेको थिएँ । त्यसको चरम दुरुपयोग गरेर पार्टीको कार्यकारी समिति, केन्द्रीय समिति एकातिर छ । पछि साथीहरु मुख्यालय बनाम, हेडक्वार्टर बनाम तीन जनाको भनेर स्थानीय चुनाबअघि बनाइयो । अहिलेसम्म एउटा पनि बैठक भएन । कार्यकारी अध्यक्ष भएसकेपछि बैठक बोलाउने त उहाँले हो,' उनले भने ।
फरक प्रशंगमा उनले पूर्ण समानुपातिक सांसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने बताएका छन् । संघ र प्रदेशमा प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्नेमा भट्टराईले जोड दिएका हुन् ।
अहिलेको संविधानलाई आफूले आधा गिलास भरि र आधा गिलास खाली भएको भनेर संविधान जारी भएकै दिन दिएको प्रतिक्रिया स्मरण गर्दै उनले संशोधनको खाँचो औँल्याए । इतिहासमै पहिलोपटक जनताको प्रतिनिधिले संविधान बनाएकाले आधा भरिएको तर संघीयता अपूर्ण भएकाले आधा खाली भएको भट्टराईको टिप्पणी छ ।
'नेपाललाई संविधानले नै एउटा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त राज्य भनेर परिभाषा गरिएको छ । ती जाति र भाषाको पहिचान र अधिकारसहितको संघीय राज्य प्राप्त भएको थिएन । संघीयता त थियो, तर पूर्ण रूपमा थिएन' उनले भने ।
बैठकमा भट्टराईले राजनीतिक प्रतिवेदन पनि पेश गरेका छन् । प्रतिवेदनमा भट्टराईले अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् । जसपाको वैधानिक बहुमत आफूहरुसँग रहने वा नरहने निर्वाचन आयोगको प्रक्रियाले टुंगिने भन्दै उनले दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको उल्लेख गरेका छन् ।
उनले नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने कि विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिहरुसंग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने भन्ने निर्णय गर्नुपर्ने बेला आएको बताएका छन् ।
भट्टराईले बोलाएको बैठकमा २३० जना केन्द्रीय सदस्य सहभागी भएको दाबी गरिएको छ । जसपाको कूल केन्द्रीय सदस्यको संख्या ४९९ रहेको छ ।
तीमध्ये भट्टराई पक्षमा २ सय ३० जना सहभागि हुँदा ४० प्रतिशतभन्दा धेरै हुन्छ । जुन जसपाको विभाजनका लागि कानूनबमोजिम पुग्ने संख्या हो ।
संसदीय दलमा पनि आफूहरुको ४० प्रतिशत पुग्ने दाबी बाबुराम निकट नेताको छ । आजै अध्यक्ष उपेन्द्र यादव पक्षले पनि वीरगंजमा भेला गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।