कर्णालीले निर्यात गर्छ ७९ थरी जडीबुटी

कर्णालीमा ७९ प्रकारका जडीबुटी पाइने गर्छ । वार्षिक रुपमा करिब १२ हजार मेट्रिक टन जडीबुटी कर्णालीले निर्यात गर्दै आएको छ । कर्णालीबाट खासगरी ७९ प्रकारका जडीबुटी बाहिर निर्यात हुँदै आएका छन् । 

कर्णालीबाट बढी मात्रामा निर्यात हुने जडीबुटीमा टिमुर, रिठ्ठा, काउलो, कुट्की, खिरौला, चुत्रो, तेजपातलगायत छन् । यसैगरी धुपीपात, पदमचाल, पाषण वेद, रिठ्ठा, यार्सागुम्बा र सेतकचिनीलगायत जडीबुटी अन्य जडीबुटीको तुलनामा धेरै मात्रामा निर्यात हुने प्रदेश वन निर्देशनालयले जनाएको छ ।

३२ मेट्रिक टन काउलो, पाँच सय ४६ मेट्रिक टन कुट्की, ४० मेट्रिक टन खिरौला, ९४ मेट्रिक टन चुत्रो, तीन सय ८३ मेट्रिक टन टिमुर, एक सय ५७ मेट्रिक टन तेपपात कर्णालीबाट एक आर्थिक वर्षमा निर्यात हुन्छन् । यसैगरी दुई सय तीन मेट्रिक टन धुपीपात, एक सय ४० मेट्रिक टन पदमचाल, एक सय ५६ मेट्रिक टन पाषणवेद, दुई सय ५० मेट्रिक टन रिठ्ठा, २९ मेट्रिक टन यार्सागुम्बा र दुई सय १७ मेट्रिक टन सेतक चिनी एक आर्थिक वर्षमा निर्यात हुने प्रदेश वन निर्देशनालयको तथ्यांक छ ।

आम्दानीतर्फ भने कर्णालीमा उत्पादित टिमुरले प्रदेशमा धेरै आम्दानी भित्र्याएको देखिन्छ । टिमुरमार्फत कर्णाली प्रदेशले एक आर्थिक वर्षमा करिब २४ लाख चार हजार आठ सय रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी यार्सागुम्बामार्फत पाँच लाख १७ हजार पाँच सय, पाषणवेद मार्फत नौ लाख ५६ हजार पाँच सय ५०, पदमचालमार्फत १२ लाख ५६ हजार तीन सय ४०, गुच्चीच्याउमार्फत १२ लाख पाँच हजार रुपैयाँ र कुट्कीमार्फत १४ लाख ५० हजार पाँच सय ५० रुपैयाँ हाराहारीमा प्रत्येक आर्थिक वर्षमा कर्णालीले राजस्व संकलन गरिरहेको छ ।
भूगोलका रुपमा पनि नेपालका अन्य प्रदेशको तुलनामा कर्णाली ठूलो छ । प्रदेशले कुल २७ हजार नौ सय ८४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । 

कर्णालीले मुख्य रुपमा यहाँको वन सम्पदाबाट मात्र वार्षिक करोडौँ राजस्व आम्दानी गर्छ । वन क्षेत्रमा रहेका जडीबुटीबाट मात्र कर्णालीले वार्षिक रुपमा करौडौँ राजस्व आम्दानी गरेको छ । प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कर्णाली प्रदेशले चालू आर्थिक वर्ष ०७८/०७९ मा जडीबुटीतर्फ राजस्व संकलनमार्फत कुल ३ करोड ३६ लाख नौ हजार पाँच सय ८८ रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी, वन क्षेत्रका काठ–दाउरा बिक्रीवितरणमार्फत दुई करोड ११ लाख १८ हजार आठ सय सात रुपैयाँ राजस्व आम्दानी गरी कुल पाँच करोड ४७ लाख २८ हजार तीन सय ९५ रुपैयाँ राजस्व आम्दानी गरेको प्रदेश वन निर्देशनालयको तथ्यांक छ ।

जडीबुटी बिक्री–वितरण गरी सबैभन्दा बढी आम्दानी गर्ने जिल्लामा हुम्ला पहिलो छ । हुम्लाले चालू आर्थिक वर्षमा एक करोड ८७ लाख १६ हजार पाँच सय रुपैयाँ राजस्व असुली गरेको छ । यसैगरी, डोल्पाले ६२ लाख ६९ हजार नौ सय ५० र जाजरकोटले ४२ लाख पाँच हजार नौ सय तीन रुपैयाँ राजस्व असुली गरेको प्रदेश वन निर्देशनालयका सहायक वन अधिकृत नवराज पौडेलले जानकारी दिए । 



जडीबुटी बिक्रीवितरण गरी राजस्व असुलीतर्फ सुर्खेतले दुई लाख ५६ हजार सात सय ५० रुपैयाँ संकलन गरेको छ । प्रदेशका जिल्लामध्ये जडीबुटी संकलनतर्फ यो रकम अन्य जिल्लाको तुलनामा सबैभन्दा कम हो । यसैगरी, दैलेखमा सात लाख २२ हजार दुई सय, सल्यानमा ११ लाख १३ हजार ६ सय ५५, जुम्लामा १३ लाख ७३ हजार पाँच सय, कालिकोटमा ६ लाख ६६ हजार ६ सय ३०, रुकुम पश्चिममा दुई लाख ८४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । मुगुमा भने विगत दुई आर्थिक वर्षमा जडीबुटीमार्फत राजस्व संकलन भएको देखिँदैन ।

कर्णालीले आर्थिक वर्ष ०७५–०७६ मा एक करोड ९६ लाख ६१ हजार दुई सय ९७ रुपैयाँ जडीबुटीमार्फत राजस्व आम्दानी गरेको थियो । ०७६–०७७ मा भने चार करोड १२ लाख ९७ हजार दुई सय ३७ रुपैयाँ राजस्व आम्दानी गरेको छ । ०७७–०७८ मा एक करोड ९१ लाख ९५ हजार नौ सय ५२ रुपैयाँ राजस्व आम्दानी गरेको छ ।



कुन–कुन जडीबुटी निर्यात हुन्छन् ?

कर्णालीमा खासगरी हिमाली जिल्लाबाट जडीबुटी धेरै मात्रामा निर्यात भएको देखिन्छ । कर्णालीबाट निर्यात हुने ७९ प्रकारका जडीबुटीमा अतिस, अमलवेद, अमला, अल्लो, अल्लोधागो, अल्लोबोक्रा, कराचुल्ठे, काकंरसिगे, काउलो (दाना र बोक्रा), कालो काठको दाना, कालो मसुली, कुट्की, कुरिलो, कुरिलोजरालगायत जडीबुटी छन् ।

यसैगरी खिरौला, गिठी (बोक्रा), गुच्ची च्याउ, गुजरगानो, गुडमार, गुराँसको फूल, गुर्जो, गोकुलधुप, घोडताप्रे, घोडा मच्चा, चिउरी, चिराइतो, चुत्रो/चुत्रोको बोक्रा, जटामसी, टिमुर, ठटेला/ढटेलो, डालेचुक, ढडेलमे, तिगेडी, तितेपाती, तेजपात, तेलाली काठ/फुरु (पिस), दालचिनी, धुपीपात (बोक्रा/गेडा), पदमचाल, पानी अमला, पावन बोक्रा, पाषण वेद, बज्रदन्ती, बाँस (घना), बायोजडी, बुकीफुल, बोझो/बोझोको जरा, भिर मह, भुतकेश, भृंगराज, भोजपत्र, मइन (लाहा) जडीबुटी कर्णालीले निर्यात गर्ने गरेको छ ।

मजिठो, मह, यार्सागुम्बा, रातो च्याउ, रिठ्ठा, लोक्ता, वन आलु, वन प्याज, वन लसुन, विष, विषजरा, विषफेज, शिलाजीत, सजिवन, सतावरी, सतुवा, सात गाठे, साधारण च्याउ, सिल्टीमुर, सिस्नु (पात/डाँठ/पाउडर/जरा), सुगन्धवाल, सुनपाती, सेतकचिनी, सेतो मसुली, सोमलता, स्लेटपत्थर र हर्रोलगायतका जडीबुटी कर्णालीबाट निर्यात हुने प्रदेश वन निर्देशनालय, कर्णालीका सहायक वन निर्देशक नवराज पौडेलले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले कर्णाली विकासको प्रमुख आधारका रुपमा वन क्षेत्रलाई समेत लिएको छ । कर्णाली विकासका मुख्य आधारका रुपमा बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार (६ ब) लाई कर्णाली विकासको प्रमुख आधारका रुपमा लिई प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा यसलाई समेटेको छ । 

कर्णालीमा प्रदेश प्रमुख तिलक परियारद्वारा कर्णाली प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा समेत कर्णालीमा वन व्यवस्थापन पद्धति अवलम्बन समेटेका थिए ।

वन पैदावारको सहज र सरल आपूर्ति, वन क्षेत्रबाट हुने राजस्व संकलनमा अभिवृद्धि र वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन पद्धति अवलम्बन गरिने उनले बताए । यसैगरी, जडीबुटीजन्य वस्तुको उत्पादनमा आन्तरिक तथा बाह्य क्षेत्रको पुँजी र प्रविधि भित्र्याउँदै ‘मेक इन कर्णाली’ कार्यक्रमलाई सरकारले प्राथमिकता राखेको कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले जानकारी दिए ।

यसका साथै बहुउपयोगी र मूल्यवान् प्रजातिका बिरुवा उत्पादन, वितरण तथा वृक्षारोपण कार्यलाई अभियानको रुपमा अगाडि बढाउन आर्थिक वर्ष ०७९/८० लाई प्रदेश सरकारले ‘कर्णाली वृक्षारोपण वर्ष’ का रुपमा मनाउँदै छ । कर्णाली प्रदेशको काष्ठ, गैर–काष्ठ वन पैदावार, जडीबुटीजस्ता स्थानीय कच्चा पदार्थको विकास तथा प्रवर्द्वनका लागि उद्यमीलाई उत्प्रेरित एवं क्षमतावान् बनाउन पूर्वाधार तथा सीप विकास एवं जनशक्ति व्यवस्थापन गर्न समेत ‘सीपसँग सहयोग कार्यक्रम’ सञ्चालन गरिने उनले जानकारी दिए ।

महिला कृषकका अतिरिक्त आय–आर्जन प्रवद्र्धन गर्न कृषि वन कार्यक्रमलाई थप व्यवस्थित र विस्तार गरी ‘महिला कृषि वन कार्यक्रम’समेत सञ्चालनमा लाइएको छ । प्रदेश सरकारले जडीबुटी विकास कार्यक्रममार्फतलाई निरन्तरता दिँदै वनक्षेत्रबाट प्राप्त हुने राजस्व वृद्धि गर्ने उद्देश्य राखेको छ ।

  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार २१:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया