लोकतन्त्रको सवालमा सबै पार्टी एक हुनुपर्छः रामचन्द्र पौडेल

चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । 

प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताका समस्या देखिएका ठाउँमा कांग्रेसले आवाज उठाउने बताए । उनले सरकार ठीक बाटोमा आउँदैन भने ठीक ठाउँमा ल्याउन कांग्रेस कम्मर कसेर अगाडि बढ्ने बताए । उनले भने, ‘जनताका आवाजलाई सधैं दबाउन सकिँदैन, देशका समस्यामा लापरबाही गर्न पाइँदैन र त्यसका लागि प्रतिपक्षले भूमिका निर्वाह गर्छ ।’ 

वरिष्ठ नेता पौडेलले भने, ‘देशका समस्यामा लापरबाही भए जनताले पनि आफ्नो तर्फबाट आवाज उठाउँछन् र सरकारलाई सही बाटोमा हिँडाउनलाई जबरजस्ती प्रयास हुन्छन् ।’ 

दूरदराजका जनताले पनि स्वास्थ्य सुविधा पाउनुपर्छ भन्ने डा. गोविन्द केसीका मागप्रति सरकारले बवास्ता गरेको बताउँदै उनले भने, ‘दूरदराजमा रहेका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनुपर्छ । संविधानले समाजवाद उन्मुख व्यवस्था भनेको छ । त्योअनुरूप सबै विपन्न जनताले सेवा पाउनुपर्छ भन्ने उहाँको मागलाई सरकारकाले बेवास्ता गरेको छ,’ उनले भने, ‘त्यो संविधानविपरीत पनि छ ।’ 

गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई पनि सरकारले लगभग विघटन गर्न लागेको भन्दै उनले भने, ‘सरकार दुईवटा अस्पताल खारेजी गर्न उन्मुख हुँदै छ ।’ 

वाइड बडी, सुनकाण्ड, भ्रष्टाचारका काण्ड अगाडि आइरहेको भन्दै उनले सरकार यस्ता घटनाको ढाकछोप गर्न लागेको आरोप लगाए । पार्टीभित्रको विवाद मिलेको हो भन्ने प्रश्नमा नेता पौडेल पार्टीभित्र केही कुरामा फरक मत भइरहने बताए । उनले भने, ‘केही कुराहरु नेतृत्वको गतिविधलाई मन नपरेको हुन सक्छ । ती विवाद हुँदाहुँदै पनि पार्टी अहिलेका लोकतन्त्र, राष्ट्रियता र सुशासनको सवालमा एक हुन्छ ।’

महासमिति बैठकले एकताको सन्देश दिएको बताउँदै उनले भने, ‘त्यो कुरा तलसम्म आउनुपर्छ । लोकतन्त्र र मुलुकको रक्षा गर्नु कांग्रेसको दायित्व हो ।’





  • प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार १३:५२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया