जसपा फुटाउन बाबुरामले शक्तिकेन्द्र धाएको उपेन्द्रको आरोप

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादीमा हुँदाजस्तै व्यवहार देखाएको आरोप लगाएका छन् । 

वीरगञ्जमा बुधबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बाबुराम पक्षले काठमाडौंको जडिबुटीमा बोलाएको बैठक अवैधानिक भएको बताए । 

अनधिकृत रुपमा पार्टीको ब्यानर प्रयोग गरेर बैठक बोलाउने अधिकार कसैलाई नभएको भन्दै यादवले यसबारे पार्टीले आवश्यक निर्णय गर्ने बताए । बैठक कसरी बोलाइन्छ भन्ने कुरा बाबुरामलाई थाहा भए पनि उनले जबर्जस्ती बैठक बोलाएकाले त्यो बैठक अवैधानिक रहेको बताए ।

संघीय परिषद्का अध्यक्ष बाबुरामले पार्टी फुटाउनका लागि अनेक उपाय लगाए पनि नसकेपछि जडिबुटीमा केही व्यक्ति भेला गरेको उनको आरोप छ । बाबुरामहरूलाई पार्टीको बैठकमा पटक–पटक बोलाउँदा पनि नआएको तर बाहिरबाहिरै बहुमत सिद्ध गर्ने भन्दै हस्ताक्षर गर्दै हिँडेको उनले बताए । 

 ‘बैठक बोलाउनका लागि हस्ताक्षर संकलन गरिएको भन्ने, तर बैठकमै नआउने यो कस्तो हस्ताक्षर संकलन हो त ?’ उनले ‘डाक्टर साहब आफैँ डाक्टर भएर जडिबुटीमा उपचार खोज्न जानुभएको छ ।’

बाबुरामले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटेर जसपा फुटाउनमा सहयोग मागेको, तर प्रचण्डले त्यो कुरा नमानेको यादवको आरोप छ । त्यसपछि बाबुराम नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न गएको उनले दाबी गरे । 



माधवकुमार नेपालसँग समाजवादी केन्द्र बनाउन बाबुरामले गरेको प्रस्ताव उनले प्रस्ताव अस्वीकार गरेपछि भट्टराई नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेट्न गएको यादवले बताए । 

बाबुरामले ओलीलाई भेटेर जसपा विभाजनमा सहयोग मागेको, तर ओलीले समेत सो प्रस्ताव अस्वीकार गरेपछि बाबुराम प्रधानमन्त्री शेरबहादुर देउवासँग सहयोग माग्न पुगेको उनले बताए । 



प्रधानमन्त्रीले पनि सहयोग नगरेपछि बाबुराम ‘शक्ति केन्द्र’ (भारतीय दूतावास)मा गएर लोसपासँग एकताका लागि पहल गरिदिन आग्रह गरेको अध्यक्ष यादवको दाबी छ ।

  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार २२:१४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया