अनियमितताको आरोप निराधार रहेको एन्फाको दाबी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले चारवटा जिल्लाका फुटबल संघले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ । शुक्रबार एन्फाले पत्रकार सम्मेलन गर्दै काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला संघले लगाएको अनियमितता र भ्रष्टाचार आरोप निराधार रहेको बताएको हो । 

पत्रकार सम्मेलनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘चार जिल्लाका साथीहरुले वर्तमान नेतृत्वमाथि १४ आरोप लगाउनुभएको छ, जुन आरोप आधारहीन रहेको छ ।’ 

अध्यक्ष शेर्पाले भ्रष्टाचारको आरोपमा सरकार र एएफसीले छानबिन गरे पूर्ण सहयोग गर्ने बताए । ‘आरोपबारे छानबिन हुनुपर्छ । यस विषयमा छानबिन समिति बनोस्, अख्तियार, मन्त्रालय र एएफसीले छानबिन गरे हामीलाई कुनै आपत्ति छैन, छानबिन गर्न सहयोग गर्छौं,’ उनले भने । 

वर्तमान नेतृत्व चयन भएपछि चार वर्षदेखि रोकिएको ‘ए’ डिभिजन लिग, ललित स्मृति यु–१८, ग्रासरुट फुटबल कार्यक्रम सम्पन्न गरेको बताउँदै एन्फाले यसै वर्ष साफ महिला च्याम्पियनसिप नेपालमै आयोजना गर्न लागेको जानकारी दिएको छ । 

‘फुटबलको विकासका लागि अन्तर्राष्ट्रिय प्रशिक्षणदेखि कार्यशाला गरेर हामीले फुटबलको विकास गरिरहेका छौँ, केही तत्वहरुलाई यो चित्त बुझेको छैन र हामी विरुद्ध लागेका छन्,’ अध्यक्ष शेर्पाले भने । 

यसअघि एन्फाअन्तर्गतको काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले निर्वाचनको क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै पत्रकार सम्मेलनमार्फत अडियो टेपसमेत सार्वजनिक गरेका थिए । 





  • प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार १६:५९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया