वासिंग्टन– अमेरिकी संघीयय कार्यालयहरू बजेटअभावमा बन्द भएको एक महिना पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीकी नेतृ एवं संसद्की सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिएका छन् । साथै, राष्ट्रपति ट्रम्पले डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने अमेरिकी अधिकारीहरुको भ्रमण पनि स्थगित गरिदिएका छन् ।
राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न करिब ६ अर्ब डलर माग गरे पनि विपक्षी पार्टीले त्यसलाई अस्वीकार गरेसँगै राष्ट्रपति र विपक्षी पार्टीबीच विवाद चुलिएको हो । पर्खाल निर्माणबाहेकको बजेट पारित गर्न विपक्षी पार्टी तयार रहे पनि राष्ट्रपति ट्रम्पले पर्खालसहितको बजेट पारित नभए बजेट नै स्वीकृत नगर्ने अडान राखेका छन् ।
दुवै पक्षको यही अडानका कारण बजेट अभावमा केन्द्रीय स्तरका धेरै संघीय कार्यालयहरु प्रभावित भएका छन् । संघीय कार्यालयहरुमा कार्यरत करिब ८ लाख कर्मचारीले तलब पाउन सकेका छैनन् । कतिपय कर्मचारीलाई बेतलबी घर बिदामा पठाइएको छ । झन्डै एक महिनादेखि संघीय जाँच ब्युरोका एजेन्ट, संग्रहालयका कामदार, अमेरिकी तटीय रक्षादलका कर्मचारी र अन्य कर्मचारीलाई घरमै बस्न वा बेतलबी काम गर्न बाध्य पारिएको छ ।
अत्यावश्यक बजेटमा पनि राजनीति गरिएको भन्दै संघीय कार्यालयमा कार्यरत कर्मचारीले विरोध गर्न थालेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको सुरक्षासँग प्रत्यक्ष सरोकार भएकाले मेक्सिको सीमामा पर्खाल निर्माण गर्नुको विकल्प नरहेको बताउँदै आएका छन् ।
तर, विपक्षी डेमोक्र्याटिक पार्टीले पर्खाल निर्माणले आप्रवासन समस्या सुल्झाउन नसकिने बताउँदै आप्रवासीका कारण अमेरिकी सुरक्षामा खतरा नरहेको जनाएको छ । राष्ट्रपति र विपक्षी डेमोक्र्याटिक पार्टीबीचको विवाद अब निजी मामिलामा परिणत हुन थालेको छ ।
राष्ट्रपति ट्रम्पले सभामुख न्यान्सी पेलोसीलाई सम्बोधन गरी व्यंग्यत्मक शैलीमा लेखेको पत्रमा भनिएको छः ‘ब्रसेल्स, इजिप्ट र अफगानिस्तानको तपाईंको पूर्वनिर्धारित भ्रमण स्थगन भएको जानकारी गराउँदा मलाई दुःख लागेको छ ।’ उनले अगाडि लेखेका छन्, ‘यो भ्रमण स्थगन हुनु ठीक होइन भन्ने कुरा पनि तपाईंले स्विकार्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।’
ह्वाइट हाउसले डाभोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन लागेका अर्थमन्त्री स्टिभन मन्चिन र अरु पदाधिकारीका यात्रा पनि रद्द गरिएको जनाएको छ । ह्वाइट हाउसले संघीय कार्यालयहरु बन्द भएकै अवस्थामा प्रशासनसँग सम्बन्धित व्यक्तिका यात्रा ठीक नभएको भनी विपक्षी डेमोक्र्याटिक पार्टीले आवाज उठाएको स्मरण गराएको छ ।
पेलोसी र उनको प्रतिनिधिमण्डलले त्यति प्रचारमा नल्याइएको अफगानिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । उनीहरुले अमेरिकी एयर फोर्सको विमानबाट यात्रा गर्ने तयारी थियो । उनको कार्यालयले भ्रमण कार्यक्रममा इजिप्ट समावेश नभएको स्पष्ट गरेको छ ।
अमेरिकी कंग्रेसका एक सहयोगीका अनुसार केही सांसदहरु एयर फोर्सको विमानका लागि संसद भवनबाट निस्कनै लाग्दा राष्ट्रपति ट्रम्पले भ्रमण रद्दको जानकारी गराएका थिए । तर, ट्रम्पले सभामुख पेलोसीले गैरसरकारी विमान लिएर विदेश यात्रामा जान सक्ने बताएका छन् । उनले भने, ‘हो, कुनै व्यावसायिक उडानमा निजी खर्चमा यात्रा गर्ने हो भने ठीकै छ, सरकारी विमानमा यात्रा सम्भव छैन ।’
सभामुख पेलोसीले जनवरी २९ मा राष्ट्रपति ट्रम्पले हाउस अफ कंग्रेसमा ‘स्टेट अफ द युनियन’ सम्भाषणको कार्यक्रम रद्द गर्ने सुझाब दिएसँगै राष्ट्रपति ट्रम्पले सरकारी विमान उपलब्ध गराउन अस्वीकार गरेकान हुन् । पेलोसीले राष्ट्रपति ट्रम्पलाई हाउसमा सम्बोधन नगर्न, बरु ह्वाइट हाउसबाटै सम्बोधन गर्न सुझाब दिएकी थिइन् ।
अमेरिकी राष्ट्रपतिहरुले कंग्रेसमा वार्षिक सम्बोधन गर्ने प्रचलन छ । तर, पेलोसीले संसद्को फ्लोर नै नदिएपछि राष्ट्रपति ट्रम्प क्रुद्ध भएका छन् ।
राष्ट्रपति ट्रम्पको उक्त कदमको डेमोक्र्याट सांसदहरुले आलोचना गरेका छन् । पूर्वअमेरिकी सैनिकसमेत रहेकी कंग्रेस सदस्य इलेन लुरियाले भनिन्, ‘कंग्रेसको जिम्मेवारी नै निगरानी गर्नु हो, र हाम्रो संवैधानिक कर्तव्यमाथि राष्ट्रपतिले हस्तक्षेप गर्नु विल्कुलै अनुपयुक्त हो ।’
रिपब्लिकन पार्टीका प्रभावशाली सिनेटर लिन्ड्से ग्राहमले सभामुख पेलोसीको अफगानिस्तान, इजिप्ट र नेटोको भ्रमण रोक्नु गलत रहेको बताएका छन् । उनले राष्ट्रपति ट्रम्पलाई कंग्रेसमा सम्बोधन गर्न नदिनु र सभामुखलाई विदेश यात्रामा रोक लगाउनु दुवै दोस्रो दर्जाका काम रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।