नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आजको दिन संविधान पक्षधरका लागि खुसीको दिन भएको बताएकी छन् । शुक्रबार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपसभामुख भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताइन् ।
उनले भनिन्, 'लामो समयपछि उपसभामुख पद पूर्णता पाएको छ । यो सबै सांसद र सदनका लागि र संविधानको पक्षधर सबैका लागि खुसीको दिन हो । संविधानको कार्यान्वयन पूर्ण रूपमा भएको छ । संसदको सबै पदले पूर्णता पाएको छ । आजको दिनलाई महत्त्वपूर्ण दिनका रूपमा सबैले लिनुपर्दछ ।'
उनले संविधानको कार्यान्वयनका लागि आफ्नो भूमिका रहने उल्लेख गरिन् । उनले राष्ट्रिय राजनीतिको विविध आयामलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र मुलुकको समृद्धिका लागि आफूले भूमिका खेल्ने बताइन् ।
उपसभामुख भुसालले संवैधानिक परिषद्मा समन्वयकारी भुमिका खेल्ने बताइन् । संवैधानिक परिषद्सँग संविधानले राखेको अपेक्षा पूरा गर्न आफूले प्रभावकारी ढंगले काम गर्ने उनको भनाइ छ ।
उनले आफू सम्वद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारी स्थगित गरेको पनि बताइन् ।
शुक्रबार भएको मतदानमा १४८ मत प्राप्त गरी भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन् । प्रतिनिधिसभामा तत्काल कायम रहेका २४२ सदस्य संख्यामध्ये १४८ मत भुसालको पक्षमा र ९३ मत मात्रै अर्का प्रतिस्पर्धी विद्या भट्टराईले प्राप्त गरिन् ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सो मतमध्ये गौतमले प्राप्त गरेको मत बहुमत भएकाले उनी उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरेका थिए । उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो ।
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।