नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई राजीनामा दिन चौतर्फी दबाब बढेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको भन्दै पदबाट राजीनामा दिनका लागि राजनीतिक दललगायत बुद्धिजीवीले दबाब दिएका हुन् ।
एमालेले एम अधिकारी को हुन् भन्ने प्रष्टाउन नसकेपछि शंका उत्पन्न भइरहेको छ । राजनीतिक दलका भ्रातृ संगठनहरूले एम अधिकारी नै गभर्नर अधिकारी रहेको दाबी गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।
यसैबीच नेकपा (माओवादी केन्द्र) निकटसंगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)नेपालले गभर्नर अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ बुँदे ज्ञापनपत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो ।
त्यस्तै, गभर्नर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । वाईसीएलका संयोजक सुमन देवकोटाले ‘गभर्नर अधिकारीलाई भ्रष्टाचार कसुरमा कारबाही गरिपाऊँ’ भनि उजुरी दिएका हुन् ।
स्वार्थ बाझिने र राज्यलाई गम्भीर हानि नोक्सानी हुने खतरा देखिएका कारण आवश्यक छानबिन गर्न उनले माग गरेका छन् । साथै उनको शैक्षिक योग्यतामाथि पनि सवाल उठाइएको छ ।
त्यस्तै, अधिकारीविरुद्ध राजश्व अनुसन्धान विभागमा पनि उजुरी परेको छ । कानुनअनुसार बैंकहरूबाट उठाउन पर्ने जरिवाना नउठाएको, उठाउन अटेरी गरेको अभियोगमा अधिकारीविरुद्ध शुक्रबार उजुरी परेको हो ।
उजुरीकर्ताद्वय पत्रकार शोभराज बराल र सूचना अभियान्ता अंगराज भारतीले गैरकर छली अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पनि गभर्नर अधिकारीलाई बर्खास्त माग गर्दै प्रदर्शन गरिरहेको छ । नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको भन्दै बर्खास्त गर्न माग गरेका छन् ।
यता, सत्ता गठबन्धनको बैठकमा पनि गभर्नर अधिकारीबारे कुरा उठेको छ । शुक्रबार बसेको सत्ता गठबन्धन बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गभर्नर अधिकारबारे कुरा उठाएका थिए । गभर्नर भएर कुनै पार्टीमा संलग्न र सक्रिय रहनु राम्रो नभएको श्रेष्ठको भनाइ थियो ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे आफू गम्भीर रहेको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री देउवाले पनि गभर्नर अधिकारीले राजीनामा दिँदा उचित हुने कुरा राखेका थिए ।
माओवादीले एमालेले अर्थ तथा योजना विभागमा राखेको एम अधिकारी महाप्रसाद अधिकारी भएको दाबी गर्दै गभर्नरबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।
अधिकारीको नाम नेकपा एमालेको अर्थ तथा योजना विभागमा रहेको आरोप छ । तर, एमालेले यो विषय चर्चामा आएको एक साता हुँदा पनि पार्टीको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी को हुन् भन्ने खुलाउन सकेको छैन । यद्यपि एमालेले उक्त नाम गभर्नरको नभएको दाबी गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।