राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
अध्यक्ष लिङ्देनले पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् ।
उनले सबै दलसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रहसमेत गरे । पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुसरण गरेर अघि बढन सके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने पनि अध्यक्ष लिङ्देनले दाबी गरे ।
'पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई लिने हो भने केवल परराष्ट्र नीतिमात्र होइन । विनापूवाग्रह भएर हेर्ने हो भने एउटा राष्ट्रिय नीति नै बन्न सक्दछ । त्यसकारण यो दिव्य उपदेशलाई कोशेढुंगा मानेर हामीले हाम्रो परराष्ट्र नीति र राष्ट्रिय नीति बनाएर गयौँ भने देश फेरी पनि आफ्नो खुट्टामा उभिने, असंलग्न राष्ट्रको पहिचानलाई कायम राख्ने सकिनेछ' उनले भने ।
नेपाल–चीन हिमालयनमैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौति र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सत्तास्वार्थकै लागि दलले जे पनि गर्ने गरकोले मुलुकमा विदेशी हस्तक्षेप बढन गएको तर्कसमेत गरे ।
'हामीले आफ्नो सत्तास्वार्थका लागि जे पनि सम्झौता गर्न तयार हुन्छौं । हस्तक्षेप त आउने नै भयो । विदेशीको समर्थन नलिइकन सत्तामा टिक्न सकिँदैन भन्ने मान्यतालाई बल दिन थाल्यौ भने त्यो त हस्तक्षेप बनेर आउने नै छ । त्यसकारण सबभन्दा पहिले नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलको सिद्धान्तलाई जोसुकै पार्टीको सरकार भएपनि साझा मान्यताको रुपमा अगाडि लिएर जानुपर्दछ' उनले भने ।
अध्यक्ष लिङ्देनले सबै दलको सहमतिमा साझा परराष्ट्र नीति बनाउन सके मुलुकले बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने पनि पटकपटक दोहोर्याए ।
'परराष्ट्र नीतिबारे अबको दिनमा कुनै दल विशेषको कुरा गर्नुभन्दा पनि सबै दलको साझा नीति बन्नु पर्छ । यसका लागि सरकारले पहल गर्नुपर्छ । सबै दल एकठाउँमा बसेर हाम्रो साझा परराष्ट्र नीति बनाउनुपर्छ भन्ने आग्रह गर्दछु’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।