चिनियाँ अधिकारीको नेपाल भ्रमण लगत्तै प्रचण्डलाई डाकेर भारतले दिन खोजेको सन्देश के हो ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' उत्तरी छिमेकी चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमण सकिएको केही दिन पछिनै दक्षिणी छिमेकी भारत पुगे । 

चीनले नेपालका वामपन्थी दललाई मिलाउन खोजिरहेको भन्दै भइरहेको चर्चाबीच प्रचण्डले भारत भ्रमण गरेका हुन् । सत्तारुढ भारतीय जना पार्टीका अध्यक्षको निमन्त्रणामा भारत पुगेका उनले आफ्नो चिनियाँ अधिकारीको भ्रमणसँग भारत भ्रमणको कुनै महत्व नरहेको दाबी गरेका थिए । तर, तीन दिने भारत भ्रमणले भने चिनियाँ चासोको जवाफ दिएको भान भएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन्छ भन्दै शुक्रबार दिल्ली उडेका प्रचण्ड आइतबार स्वदेश फर्किए । तर, अन्तिमसम्म प्रयास गर्दा पनि मोदीसँग उनको भेटवार्ता हुन सकेन । स्वदेश फर्किएपछि मोदीसँगको भेटलाई उनले खासै महत्त्वमा नभएको भन्ने खालको जवाफ दिए । 

भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए । 

‘के कारणले भेट भएन मैले पनि तपाईंहरूले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, प्रचण्डले भने, 'भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो ।'

प्रचण्डले भनेजस्तै मोदीसँगको उनको भेटको अपेक्षा फोटोसँग मात्र होला ?  प्रचण्डले भेट्न प्रयास गर्दा पनि मोदीसँग सम्भव नहुनुले उनलाई भारतीय पक्षले कति महत्व दिएको छ भन्ने कुरा प्रस्ट भएको छ ।



यससँगै प्रचण्डले मोदीसँग भेटेको भए फोटो खिच्ने कुरा मात्र हुने र त्योभन्दा बढी नहुने अर्थमा कतिपयले बुझेका छन् । के यसअघिका भेटमा सीमा, व्यापार लगायत राष्ट्रिय हीतका विषयमा हुने गरेका भनिएका वार्ताहरू बारेको विवरणहरु सत्य थिएनन् त भन्ने प्रश्न उब्जिएको छ । 

उनको भ्रमण विशेषत सत्तापक्षसँग मात्र केन्द्रीत रहेको देखिएको छ । प्रचण्डले निम्ता दिने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाबाहेक विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव विनय मोहन क्वात्रालगायतसँग भेटेका छन् ।



सत्तारुढ दलका एकजना अध्यक्षलाई बोलाएर भारतले चीनलाई आफू गठबन्धनको पक्षमा रहेको संकेत भने स्पष्ट रुपमा दिएको छ । चीनले वाम दलहरुलाई एक बनाउने प्रयास गरे पनि सत्तारुढ दलसँग आफूहरुको राम्रो सम्बध रहको देखाउने अवसरको भारतले भरपूर उपयोग गरेको देखिएको छ ।

आफ्नो भारत भ्रमण सफल भएको दाबी प्रचण्डको छ । मोदीसँग भेट नभए पनि अरुसँगको भेट उलपब्धिपूर्ण भएको उनी बताउँछन् । 

‘सबैसँगको भेटमा निकै सौहार्दपूर्ण वातावरणमा इतिहासदेखि अहिलेसम्मका सबै विषयमा कुरा भएको छ,’ प्रचण्डले भने,‘म निकै आशावादी भएर फर्किएको छु।’

  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार २०:२५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया