\
तापक्रम लगातार बढिरहेका बेला सोमबार बिहान काठमाडौंमा वर्षा भएको छ ।
उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको थियो । तर, मनसुनको न्युन चापीय रेखा हाल पनि सरदर स्थानभन्दा दक्षिण तिर रहेकाले मनसुन सक्रिय हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसो पहाडी भू–भागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन छ ।
मंगलबार भने मनसुन केही सक्रिय भएर देशका विभिन्न क्षेत्रमा वर्षा हुनसक्ने छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मंगलबार वर्षाको सम्भावना छ ।
मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।
बुधबार देशका पहाडी भू–भागका धेरै स्थान र अन्य भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थानमा भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।