फेब्रुअरीमा ट्रम्प–किम दोस्रो शिखर वार्ता

वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउदो फेब्रुअरीको अन्त्य तिर हुने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । उत्तर कोरियाको सत्तारुढ दल कोरियन वकर्स पार्टीको केन्द्रीय कमिटिका उपाध्यक्ष किम योङ चोलसँग ओभल अफिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको भेटपछि राष्ट्रपतिको कार्यालयले यस्तो बताएको हो । 

‘राष्ट्रपति डोनाल्ड ट्रम्पले किम योङ चोलसँग साढे एक घन्टा बैठक गर्नुभयो, बैठकमा आणविक हतियार निःशस्त्रीकरण र दोस्रो शिखर सम्मेलनका बारेमा छलफल भएको छ,’ ह्वाइट हाउसका सञ्चार सचिव सराह सन्डेर्सले भने । उनले शिखर बैठकस्थल र बैठककाे मितिबारे छलफल भएको जानकारी दिए । 

दसकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले जारी वार्ताका लागि चोलको नेतृत्वमा उत्तर कोरियाली उच्च अधिकारीको टोली वासिङ्टन भ्रमण पुगेको छ । उत्तर कोरियाली सेनाका उच्च सैन्य जर्नेल चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली व्यक्ति मानिन्छन् । उनी उत्तर कोरियाली नेता किम जोङ उनको विश्वास पात्रका रुपमा काम गरिरहेका उच्च सैन्य अधिकारी हुन् । 

उनले ट्रम्प र अमेरिकी उच्च अधिकारीसँग विषेश गरेर दोस्रो शिखर सम्मेलनकै बारेमा छलफल गरेका छन् । किमको गत नोभेम्बरको सुरुमा नै वासिङ्टनको भ्रमण गर्ने समय तालिका रहेको थियो । तर, त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चिसोपना आएपछि सो भ्रमण रद्द भएको थियो । 

अमेरिकी राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको शुभ कामना पत्र  पठाएपछि पुनः सम्बन्धका नयाँपन आएको थियो । केही दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेको थिए । 

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्ध गत वर्षबाट सुधार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिंगापुरमा शिखर वार्ता भएको थियो । सो पहिलो शिखर वार्तामा छिट्टै नै अर्को शिखर वार्ता हुने भनिए पनि आउने फेब्रुअरीको अन्त्यमा मात्रै हुने भएको हो । दोस्रो शिखर सम्मेलनको आतिथ्य भने भियतनामले गर्ने इच्छा व्यक्त गरेको छ । 





  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार १७:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया