logo-img

विप्लवले भने - देशको स्वाधीनता र सार्वभौमिकता निकै खतरामा छ
फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको बताएका छन् । सोमबार काठमाडौंमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै उनले इतिहासमै पहिलो पटक नेपालको स्वाधीनता र सार्वभौमिकता खतरामा रहेको बताएका हुन् । 

उनले सुगौली सन्धि र दिल्ली सम्झौता भन्दा पनि खतरनाक बनेर एमसिसी र एसपिपीहरु नेपालमा आइलागेको दाबी गरेका छन् । उनले नेपालमा राजनीतिक अस्थिरता दिनप्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै सांसदवादी पार्टीहरू देशको नेतृत्व गर्न असफल बन्दै गइरहेको दाबी गरे । 

महासचिव चन्दले मन्त्री बन्ने रोल क्रम राणा कालको झैँ भाइ भारदारहरू राखेर भइरहेको बताए । उनले अहिलेका सरकारले आलोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पत्ति उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरू मात्रै गरेको आरोप लगाए । 

उनले भने, ‘हाम्रो नेपालको स्वाधीनता र सार्वभौमिकता निकै खतरामा छ अहिले । इतिहासको कुनै पनि क्षणभन्दा आज नेपालको राष्ट्रिय स्वाधीनता जोखिममा छ । १८१६ को सुगौली सन्धि भन्दा पनि १९५० को दिल्ली सम्झौता भन्दा पनि खतरनाक बनेर एमसिसी र एसपिपीहरु हाम्रो आकाशमाथि आइलागेका छन् । हाम्रो देशमाथि आइलागेका छन् । देशको भविष्यको बारेमा सबै युवाहरूमा चिन्ता छाएको छ । यो एउटा संकट खडा भएको छ ।’



महासचिव चन्दले अहिलेका दलहरूले दलको स्वार्थका लागि केही मान्छेको झोली भर्नको लागि सिंगै देशलाई मोलमोलाई गरिरहेको बताएका छन् । उहाँले अहिलेको व्यवस्थालाई मुठी भर लुटेराहरूको व्यवस्थाको संज्ञा दिँदै शहीदको बलिदान दिएर ल्याउन खोजेको व्यवस्था यो नभएको बताएका छन् ।





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया