जयपृथ्वी नगरपालिकाले नदीजन्य पदार्थको उत्खननमा रोक लगायो

बझाङकाे जयपृथ्वी नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा निकासीमा प्रतिबन्ध लगाएको छ । नदीजन्य पदार्थ विनामापदण्ड उत्खनन गर्ने र चोरी निकासी हुने गरेका कारण नगरपालिकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको हो । 

व्यवसायीले विशेषगरी सेती नदी र बाहुली खोलाबाट नदी तथा वातावरणको स्वरुप नै बिग्रने गरी बालुवा ढुंगा संकलन गर्ने गरेको पाइएका कारण रोक लगाइएको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले बताए । 

उनले भने ‘जथाभावी नदीजन्य पदार्थ उत्खनन गर्ने प्रवृत्तिका कारण खोलानालाको स्वरुप बिग्रने र त्यसले बाढी–पहिरोलगायत विपत्ति आउनेतर्फ हामी सचेत छौँ । साथै नदीजन्य पदार्थको उत्खनन गरेबापत राजस्वसमेत नगरपालिकालाई नबुझाई चोरी निकासी हुन थालेका कारण नदी जन्य पदार्थको निकासीमा हामीले रोक लगाएका हौँ ।’
 
जयपृथ्वी नगरपालिका क्षेत्रभित्र पर्ने नदी किनारबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खनन तथा निकासीका लागी उचित मापदण्ड र निर्देशिका बनाएर मात्रै पुनः खोलिन नगरपालिकाले जनाएको छ । 

साउन १ गतेदेखि लागू हुने गरी असोज मसान्तसम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर जोशीले बताए । उनले भने, ‘नगर प्रमुख चेतराज बजालको निर्देशनमा सेती नदी र बाहुली खोलामा भइरहेको प्राकृतिक स्रोतको दोहन रोक्न सूचना जारी गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि नदीजन्य पदार्थ दोहन रोकिन्छ ।’

सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै नदीजन्य पदार्थ उत्खननमा रोक लगाउँदै सूचनाको अवज्ञा गरेमा कानुनअनुसार कारबाही हुने जनाएको छ ।





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १९:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया