मकवानपुरको बागमती गाउँपालिकाले आफ्नो र आफूनिकट कर्मचारीको मात्रै करार सम्झौता नवीकरण गरेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नेकपा माओवादीको तर्फबाट अध्यक्ष पदमा विजयी भएका सर्केश घलानले पार्टीनिकट कर्मचारीको मात्रै करार सम्झौता गरेका हुन् ।
गाउँपालिकाले असार ३१ गते शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकामा कार्यरत करार सम्झौताका कर्मचारीमध्ये अधिकांश कर्मचारीको करार सम्झौता नवीकरण गरेको र केहीको नगरेको गरेको हो । करार सम्झौता नवीकरण भएकाहरुमा माओवादीनिकट कर्मचारी मात्रै रहेका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेसनिकट कर्मचारीहरुको करार सम्झौता नवीकरण नभएको बुझिएको छ । ७६ जना करारका कर्मचारी रहेकोमा ५९ जनाको मात्रै सम्झौता नवीकरण गरिएको छ भने १७ जना कर्मचारीको नवीकरण गरिएको छैन ।
यसैबीच, गाउँपालिकाको कृषि शाखा प्रमुख अशोक ग्यालनसहित करार सम्झौता नभएका १७ जना कर्मचारीले आज गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् । उनीहरुले करार सम्झौता नवीकरणको विषयमा ध्यानाकर्षण पत्र बुझाउँदै उक्त निर्णय पुनः विचार गर्दै समस्याको समाधान गर्नको लागि अनुरोधसमेत गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।