मिथिलामा मधुश्रावणीको रौनक

मिथिलाका विवाहित नारीले मधुश्रावणी पर्व मनाइरहेका छन् । १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन् । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा सोमबारबाट सुरुआत भएको यो पर्व १३ औँ दिनमा समापन गरिनेछ ।  

मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा व्यस्त देखिन्छन् । साउन कृष्ण पञ्चमीका दिन सुुरु भएर साउन शुक्ल त्रितीयाका दिन सम्पन्न गरिने यो पर्व बर्तालु र उनका सखीको वस्त्र परिधानको सजधज, सामूहिक प्रणयगान र फूललोढी’ (फूल खोज्ने) विधिले सबैको ध्यान खिच्ने गरेको छ । 

शिव, पार्वती (गौरी) र ‘विषहरा’ (नागदेवता) को आराधना गरिने यो पर्वमा भोलिपल्टको पूजाअर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिकरूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भन्ने गरिएको छ । पर्वमा भगवान् शङ्कर र देवी गौरीलाई बासी पूmल चढाउने चलन छ ।

पर्व अवधिमा प्रत्येक दिन सूर्यास्त हुनुपूर्वको बेलामा प्रणयगान गाउँदै विशेष वस्त्र परिधानमा सजिएका मैथिल नवयौवना फूल खोज्ने विधिका लागि निस्कँदा सामान्य बटुवा पनि टक्क अडिएर गीतको भावमा डुब्छन् । 

‘भर्खरै विवाहित जोडिको प्रणय सम्बन्ध प्रगाढ बनाउने उद्देश्यभित्रको पर्वको फूललोढी’ विधिमा निस्केका मिथिलानीको त्यही विषय भाव समेटिएका गीतले आफ्ना सबै गुमाएको वा छोडेको फुटपाथेलाई पनि रोमाञ्चित गराउँछ,’ जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टिका मैथिली लोक परम्पराका ज्ञाता ८० वर्षीय कृष्णचन्द्र झा भन्छन्, ‘गीतका शब्द र भावले शिष्टता नाघेको भान हुँदैन ।’ गीत व्रतालुको प्रणय सम्बन्ध प्रगाढ होस् भन्ने सलल बगेको भाव अत्यन्त कर्णप्रिय लाग्ने उनको भनाइ छ ।

आमरूपमा प्रगाढ प्रणय सम्बन्धको अपीलमा सामाजिक शिष्टता नाघिने शब्द गीतमा हुँदैनन् । वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । वनमा रमाउने मयूर पनि यसै मौसममा प्रणय सम्बन्धमा लिन हुन्छन् । 



यस्तो बेला नवविवाहिता जोडिबीच रतिरागदेखि भावात्मक रूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको मिथिला संस्कृतिका जानकार बताउँछन् । यसैले यो पर्व नवविवाहिताका लागि खास हुने गरेको छ ।



  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार ८:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया