इनरुवा– मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
इनरुवा–१ स्थित खेलमैदानमा आज सम्पन्न भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमायो । इनरुवा नगरपालिका र शान्ति दीप नेपाल सुनसरीको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
विजेता आर्मीले ४ लाख १ हजार नगदसहित ट्रफी हात पार्यो । उपविजेतामा चित्त बुझाएको पुलिसले २ लाख १ हजार पायो । खेल अवलोकनका लागि इनरुवा आएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विजेता र उपविजेता टोलीलाई पुरस्कार वितरण गरे ।
पहिले ब्याटिङ गरेको आर्मीले जितका लागि २५० रनको लक्ष्य दिएको थियो । जबाफी ब्याटिङमा उत्रेको पुलिस १६६ रनमै अलआउट भएपछि उपाधि आर्मीको हातमा गयो ।
टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले अर्धशतकीय पारी खेल्दा कुशल मल्ल भने अर्धशतक बनाउनबाट एक रनले चुके । पुलामीले ६९ रन बनाउँदा मल्लले ४९ रन बनाएका थिए । पुलिसका दीपेश श्रेष्ठले ३ तथा रामनरेश गिरीले २ विकेट लिए ।
४२.५ ओभरमा अलआउट भएको पुलिसका लागि योगेन्द्र सिं कार्कीले ५१ रन जोडे पनि टोलीलाई हारको मुखबाट जोगाउन भने सकेनन् । पुलिसका हिमान्सु दत्तले २९ र अमित श्रेष्ठले २५ रनको पारी खेले । पुलिसलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सहाब आलम र कुशल मल्लले समान ३ विकेट लिए ।
फाइनल खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका कुशल मल्ल बने भने प्रतियोगिताकै अनुशासित टोली प्रदेश नं ७ भयो । बेस्ट बलर पुलिसका सागर ढकाल भए भने बेस्ट ब्याट्सम्यान आर्मीका भीम सार्की बने । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका पुलिसका दिलीप नाथ ‘म्यान अफ दी सिरिज’ भए । उनले ५१ हजार नगद हात पारे ।
गत पुस २१ गतेदेखि सुरु प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय, एक भारतीय र एक आयोजक गरी १२ टोली सहभागी थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।