एजेन्सी– मेक्सिकाको हिडाल्गो प्रान्तमा शुक्रबार साँझ भएको तेल पाइप लाइन विस्फोट दुर्घटनामा मृत्यु हुनेको संंख्या ६६ पुगेको छ, दर्जनौँ घाइते भएका छन् । सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन् ।
तेल तस्करहरुले पाइप लाइन फुटाइदिएका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । अधिकारीहरुका अनुसार शुक्रबार साँझ त्यहाँ दर्जनौँ मानिसहरु पाइपलाइनबाट बाहिर निस्किएको तेल भर्न त्यहाँ जम्मा भएका थिए । स्थानीय टिभी च्यानलहरुले प्रसारण गरेका फुटेजमा आगोमा अचानक सल्किएको देख्न सकिन्छ ।
मेक्सिकोमा तेल तस्करी अत्यन्त धेरै हुन्छ । मेक्सिकोको सरकारका अनुसार गत वर्षमात्र मेक्सिकोमा चोरीका कारण ३२० अरब रुपैयाँभन्दा धेरै नोक्सान भएको थियो । गत वर्ष डिसेम्बरमा राष्ट्रपतिमा निर्वाचित ओब्राडोरले यसविरुद्ध अभियान पनि चलाएका थिए ।
मेक्सिकोको सरकारी तेल कम्पनी पेमेक्सले यो आगलागी अवैद्य रुपमा पाइप लाइनबाट तेल चोरी गर्न काटिएकाले भएको जनाएको छ ।
त्यहाँका एक अधिकारीका अनुसार अहिले आगो नियन्त्रणमा आइसकेको छ ।
राष्ट्रपति लोपेज ओब्राडोर घटनास्थलमा पुगेका छन् । उनले अब तेल चोरीविरुद्धको अभियान अझ सशक्त बनाउने बताएका छन् ।
तेल चोरीका कारण आगलागी भएर मानिसहरुको मृत्यु भएको यो पहिलो पटक भने होइन । सन् २०१३ मा मेक्सिको सिटीमा भएको दुर्घटनामा ३७ जना र २०१२ मा २६ जनाको मृत्यु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।