उपत्यकामा कुकुरको आतंक : रेबिजको खोप लगाउन दैनिक ‌ ३ सय जना पुग्छन् टेकु अस्पताल

सर्लाही स्थायी ठेगाना भएका सागरसिंह दनुवार ललितपुरको कुपण्डोलमा बस्छन् । १९ वर्षीय सागर अध्ययनका लागि राजधानी आएका हुन् । उनी ललितपुरको एक क्याम्पसमा कक्षा १२ मा अध्ययनरत छन् । अध्ययनसँगै एउटा आइटी कम्पनीमा काम पनि गर्छन् । ३० साउनको राति १० बजे कामबाट फर्किंदै गर्दा ज्वागलमा सागरलाई सामुदायिक कुकुरले झम्टियो । 

तीनवटा कुकुरले केहीबेर लेखेटेपछि एउटा कुकुरले खुट्टामा दाँत गाडेको उनले बताए । सोमबार उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेबिजविरुद्धको दोस्रो खोप लगाउन आएका थिए । ‘सामुदायिक कुकुरको त्रासले अँध्यारो हुँदा बाहिर निस्किन डर लाग्छ । महानगरले कुकुर व्यवस्थापन गर्न ध्यान दिए हुन्थ्यो,’ उनले भने । 

काठमाडौंको बानेश्वर स्थायी ठेगाना भएकी सुमित्रा श्रेष्ठलाई ३२ साउनको बिहानै सामुदायिक कुकुरले टोक्यो । काम परेर पुरानो बानेश्वर जाँदै गर्दा रोडमा भएको कुकुरले खुट्टामा टोकेको श्रेष्ठले बताइन् ।

उनी पनि सोमबार रेबिजविरुद्धको खोप लगाउनका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन् । ‘काम परेर पुरानो बानेश्वर जाँदै थिएँ । एउटा कुकुरले खुट्टामा टोकेपछि थाहा पाएँ । बानेश्वरमा सामुदायिक कुकुरको आतंक छ’ श्रेष्ठले भनिन् । 

इमाडोल बस्ने १६ वर्षीय विनोद तामाङ पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमै भेटिएका थिए । ३२ साउनको बेलुका ५ बजेतिर ललितपुरको बङ्गलामुखी नजिकै सामुदायिक कुकुरले टोकेको उनले बताए । सामुदायिक कुकुरलाई उचित व्यवस्थापन गर्न पर्ने र घरमा पाल्नेले बाहिर छोड्न नहुने उनको भनाइ छ । 

दैनिक औसत ३ सय जना रेबिजविरुद्धको खोप लगाउन आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल रेकर्ड निरीक्षक खिलनाथ गौतम बताउँछन् ।



‘दैनिक कम्तिमा २ सयदेखि अधिकतम् १५ सय जनासम्म पनि रेबिजविरुद्धका खोप लगाउन आउनुहुन्छ । जसमध्ये धेरै जसो सामुदायिक कुकुरले टोकेको हुन्छन् भने केही घरपालुवा कुकुर तथा अन्य जनावरले टोकेका हुन्छन्’ उनले भने । 

गत वर्षको कात्तिकमा रेबिजको संक्रमणका कारण ५ जनाले ज्यान गुमाएका थिए । यो तथ्यांक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इर्मेजेन्सीबाहेक इम्यासेन्टमा भर्ना भएका बिरामीको हो । रेबिज संक्रमणले ज्यान गुमाउनेको संख्या योभन्दा बढी हुन सक्ने अस्पतालका मेडिकल रेकर्ड निरीक्षक गौतम बताउँछन् । 



आर्थिक वर्ष २०७७/०७८ मा ५५ हजार ५२५ जनाले रेबिजविरुद्धको खोप लगाएको तथ्यांक छ । त्यस्तै, आर्थिक वर्ष ०७८/०७९ मा १ लाख १९६ जनाले रेबिजविरुद्धको खोप लगाएका छन् । एक व्यक्तिले औसत तीनवटा खोप लगाउनु पर्ने भएकाले कुल गरेर रेबिजविरुद्धको खोप लगाउने संख्या निकालिने मेडिकल रेकर्ड निरीक्षक गौतम बताउँछन् । 

रेबिजविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी

नेपाल सरकारले रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । तर, कुकुर वा कुनै जंगली जनावरले टोकेपछि तत्कालै लगाउनु पर्ने टिटानस खोप भने आफैँले शुल्क तिरेर लगाउनु पर्ने बाध्यता  छ । 

सङ्क्रमित कुकुर तथा जनावरले मानिसलाई टोक्दा लाग्ने रेबिज रोगलाई खोपका माध्यमबाट रोकथाम गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

रेबिज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा सङ्क्रमण गर्छ । त्यसैले मानिसमा 'एकपटक सङ्क्रमण भइसकेपछि' रेबिजका बिरामीलाई बचाउन नसकिने उनीहरूको भनाइ छ ।

नेपालमा वार्षिक करिब १०० जनासम्मले रेबिजका कारण ज्यान गुमाउने गरेको सरकारी विवरण छ । तर, सबै रेबिजका घटना जानकारीमा नआएको पनि हुनसक्ने बताइन्छ ।

रेबिज कसरी लाग्छ ?

रेबिज संक्रमण भएका जनावरले मानिसलाई टोकेमा त्यस्ता जनावरको र्‍यालबाट रोग सर्न सक्ने चिकित्सकहरू बताउँछन् ।

रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि फैलिनका लागि केही दिनदेखि महिनौँसम्म पनि लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल रेकर्ड निरीक्षक गौतमले बताए ।

‘रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि त्यसको विकास भएर संक्रमण हुने समय अरू रोगको तुलनामा अलि लामो छ । नौ दिनदेखि ९० दिनसम्म लाग्छ भनिन्छ । त्यसलाई हामी इन्क्यूबेशन पीरीअड (सङ्क्रमणकाल) भन्छौँ,’ उनले भने, ‘कुकुरले टोक्दैमा तुरुन्तै रेबिज हुन्छ भन्ने हुँदैन, विश्वमा कुकुरको टोकाइको एक वर्षपछि रेबिज भएर मृत्यु भएका घटना पनि छन्। ’

नेपालमा ९९ प्रतिशत रेबिजका घटना घर पालुवा जनावर कुकुरको टोकाइका कारण हुने गरेको उनले बताए । अन्य घटना स्याल र फ्याउरोजस्ता जनावरको टोकाइका कारण भएको पाइएको छ ।

  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १५:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया