आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ४० करोड मात्र राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष राजस्व संकलन बढेको छ । पोखरा आन्तरिक राजस्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८/०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२ प्रतिशत, व्याजकर ७३ प्रतिशत, मूल्य अभिवृद्धिकर ८५ प्रतिशत, अन्तःशुल्क कर ६९ प्रतिशत, स्वास्थ्य १७७ र शिक्षातर्फ ४ प्रतिशत गरी जम्मा ९६ प्रतिशत राजस्व संकलन भएको बताए ।
मूल्य अभिवृद्धि कर भने लक्ष्यअनुसार संकलन हुन नसकेको बताउँदै प्रमुख शर्माले कोरोनाको प्रभावका कारण व्यापार व्यवसायले राम्रोसँग लयमा आउन नसक्नु र स्थानीय, प्रदेश सरकारले बजेट पूर्ण रुपमा खर्च नगरेकोले मूल्य अभिवृद्धिकर कम भएको बताए ।
राजस्व संकलन वृद्धिदरअनुसार कमै भए पनि यो रकम सन्तोषजनक नै मान्नुपर्ने उनले बताए ।पोखराको राजस्व संकलनको मुख्य स्रोत पर्यटन रहेको भन्दै उनले कोरोनाले पर्यटन व्यवसाय तंग्रिन नसकेकोले लक्ष्य हासिल हुन नसकेको स्वीकार गरे ।
आन्तरिक राजस्व कार्यालय पोखरामा हाल करदाता १ लाख ७५ हजार छन् । तीमध्ये ६१ हजार भ्याटमा छन् । प्रमुख शर्माले फर्म दर्ता नगरी सञ्चालन गरेकालाई करको दायरामा ल्याउने बताए । कार्यालयले पनि बेलाबेलामा करदाता शिक्षा र बजार अनुगमन गर्दै आएको शर्माले बताए ।
करको दायरा वृद्धि गर्दै कर छल्ने प्रवृत्ति र चुहावट घटाउनेतर्फ पनि कार्यालय लागिपरेको बताउँदै शर्माले विगतमा गण्डकीका विभिन्न जिल्लाको राजस्व प्रदेश राजधानी पोखरामै हुने गरेकोमा अहिले स्याङ्जा, बागलुङ, तनहुँ र नवलपुरबाट समेत राजस्व संकलन गरिने जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।