गठबन्धन त्यागेर एकतामा आउन माओवादी र नेकपा एसलाई योगेशको आग्रह

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई आग्रह गरेका छन् । मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभागले आयोजना गरेको ‘राष्ट्रको समृद्धिका लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले यस्तो आग्रह गरेका हुन् । 

तत्कालीन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताउँदै उनले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छाडिदिएर बिर्सिनुपर्ने बताए । विगतको कुरा गरेर अगाडि बढ्न नसकिने भन्दै उनले अगाडि जाने बारेमा मात्रै सोच्नुपर्ने बताए । 

वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा दिँदै भट्टराईले तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भए पनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिए । घुमाउरो पारामा उनले भने, ‘अस्ति अलि छिट्टै एउटा बाटोमा हिँड्न खोज्दा छिटो दुर्घटना भयो । अब अलि छिटो एउटै बाटोमा नहिडौँ न त ठिकै छ । एउटै दिशामा जाऊँ ।’

देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको बताउँदै सचिव भट्टराईले कम्युनिस्ट तथा वामपन्थी शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रसँग आँखा जुधाएर बोल्न सक्ने बताए । देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरुले सबै प्रणाली खाइदिने उनको भनाइ छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले शिक्षाको क्षेत्रमा नयाँ नीति ल्याउन नसक्ने दाबी गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै वुद्धि, विवेक र नीति नभएको टिप्पणी गरे । 
 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १८:२८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया