संरक्षणको पर्खाइमा सुदूरका ताल

अमरगढी- संरक्षण नुहँदा डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक-पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् । 

स्थानीयस्तरबाट ताल संरक्षणका लागि समिति गठन गरी पहल गरेको भए पनि सरकारी उदासिनताका कारण संरक्षण गर्न नसकिएको आलिताल गाउँपालिका अगुवा अमर बुढामगरले जानकारी दिए ।  डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा रहेको आलिताल गाउँपालिकाले रणनीतिक योजना बनाए पनि स्थानीयवासीको पहलमा श्रमदानबाट तीन किलोमिटर तालसम्म पुग्ने बाटोबाहेक कुनै काम हुन नसकेको अलितालका स्थानीयवासी भरत खड्काले बताए । 

ताल संरक्षणमा कसैले चासो नदेखाउँदा अहिले आलिताल चारैतिरबाट पुरिन थालेको उनको भनाई छ । आलिताल डडेल्धुरा जिल्लाको सबैभन्दा ठूलो ताल हो । स्थानीय अगुवा तुलाराम बोहराले आलितालको प्रचारप्रसारमा कमी भएकाले पर्यटकीयस्थल आलितालको संरक्षण हुन नसकेको तथा पर्यटक भित्रिन नसकेको गुनासो गरे । 

डडेल्धुराको अर्को ठूलो नाइल तालको समयमै संरक्षण नहुँदा पछिल्लो समय अतित्व नै मेटिने भएको स्थानीयवासीको गुनासो छ । हामी ताल नजिक बस्थ्यौँ, ताल वारिबाट हेर्दा पारि देखिँदैनथ्यो, धेरै ठूलो ताल थियो । विस्तारै पहिरोले पुर्दै गएपछि ताल अहिले गर्मीयाममा सुख्खा हुने गरेको छ । 

भित्री मधेश क्षेत्रकै परशुराम–६ स्थित वन्डा तालसमेत हाल सुकिसकेको छ । परशुराम-१ मा पर्ने बोडा तालसमेत सुक्ने अवस्थामा छ । यस्तै बगराकोट गाविसमा पर्ने बगबरकोट ताल संरक्षण अभावमा पुरिँदै गएको छ । 

डडेल्धुरामा र कञ्चनपुरको सीमा क्षेत्रमा रहेका बेतकोट ताल, भिलमिला ताल, डडेल्धुरा डोटी सीमामा पर्ने छतिवन ताल, अछाम जिल्लामा रहेको रामारोशन ताल र बझाङ जिल्ला र दार्चुलाको सिमानामा पर्ने सुर्मासरोवर अहिले संरक्षणको अभावमा तालका अकार घट्न थालेको प्रति स्थानीय अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् ।



सुदूरपश्चिमका चर्चित घोडाघोडी तालदेखि शुक्लफाँटा आरक्षभित्र रहेको रानी ताल, खप्तड राष्ट्रिय निकुञ्जभित्र रहेको खप्तड दहलगायतका अधिकांश तालतलैया पुरिन थालेको स्थानीयवासी बताउँछन् । सुदूरपश्चिममा रहेका मनोरम र रमणीय तालहररूको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने हो भने यहाँका युवा विदेश पलायन हुने अवस्था नआउने डडेल्धुरा उद्योग वाणिज्य संघका महासचिव भोजराज भट्टले बताए । 

व्यवस्थितर रूपमा स्थानीय तालहरुको संरक्षण गरी पर्यटन विकासमा जोड दिने हो भने यहाँका युवालाई रोजगारीको अवसर जुट्ने उनले बताए । यस क्षेत्रका ताल क्षेत्रमा सडक विस्तार भइसकेकाले सडकबाट १५ मिनेटदेखि तीन घण्टासम्म पैदल दूरीमा पर्दछन् । ताल संरक्षणका लागि जिल्ला विकास समिति कार्यालय डडेल्धुराले कुनै पनि कार्यक्रम नल्याएको स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डेयले बताए । 



प्रचुर पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिमका पर्यटकीयस्थल ताल, धार्मिकस्थल र सुदूरपश्चिम क्षेत्रको दार्चुलामा पर्ने अपी हिमाल र बझाङ जिल्लामा पर्ने साइपाल हिमालसमेत ओझेलमा परेका देखिन्छन् । 

  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार ८:३४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया