प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गरेका छन् ।
१२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो । बुधबार काठमाडौंमा आयोजित अनलाइन समाचार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
माओवादी अध्यक्ष दाहालप्रति संकेत गर्दै उनले जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्क गरे । महासचिव पोखरेलले भने, ‘जति साना दलहरु मुलुकको राजनीतिमा हावी हुन्छन्, त्यति मुलुकले सही बाटो समाउन सक्दैन । १२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामथ्र्य राख्दैन । प्रधानमन्त्री खोज्न देश÷विदेश दौडाहामा कुदेको छ । यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त ?’
महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाए । गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रुपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेको भन्दै उनले आपत्तिसमेत जनाए । महासचिव पोखरेलले गभर्नर अधिकारीलाई सो पदबाट हटाउने काम गरिए मुलुक श्रीलंकाकरण हुने दाबी गरे ।
गभर्नर अधिकारी एमालेको कुनै पनि विभागमा नरहेको कुरा उहाँ स्वयंले भनेपछि त्यसमाथि थप बहसको कुनै जरुरी नरहेको महासचिव पोखरेलले पटक–पटक दोहोर्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।