बझाङ सदरमुकाम जोड्ने सडक निर्माण सम्पन्न भएको केही दिनमै नदीले बगायो

मंगलबार राति परेको पानीका कारण बझाङको जिल्ला सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गतको जाल्याबगर सडकखण्डमा क्षति पुगेको छ । 

केही दिनअघि मात्रै निर्माण कार्य सम्पन्न भएको उक्त सडक खण्डमा मंगलबार राति परेको अविरल वर्षाका कारण नयाँ निर्माण गरिएको भाग बगाएको हो । गत वर्षको कात्तिक महिनामा आएको बेमौसमी बाढीका कारण करिब ४ सय मिटर सडकखण्ड बगाएपछि जयपृथ्वी राजमार्गको जाल्याबगर सडकखण्ड बगेको थियो । 

सडक बगेपछि गत सालको पुस महिनामा ड्रागन जगदम्बा सुर्मा सरोवर जेभीले ५ करोडमा निर्माणको जिम्मा पाएका थियो । माघ महिनादेखि निर्माण कार्य थालिएको सडक खण्ड केही दिनअघि मात्रै निर्माण कार्य सम्पन्न भएको भन्दै निर्माण कम्पनीले सडक सञ्चालन गर्न सकिने बताएको थियो । 

तर, गएराति परेकोको वर्षाका कारण फेरि सडकको आधाभन्दा बढी भाग बगेको छ । साना सवारीसाधन अहिले वारपार गरिरहेको भए पनि ठूला सवारीसाधन वारपार गर्ने अवस्थामा नरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार निर्माण गरएको सडकको ६० प्रतिशतभन्दा बढी भाग नदीले कटान गरिसकेको छ । आज रातभर पनि पानी परेको खण्डमा र सेतीले धार परिवर्तन नगरेको अवस्थामा बाँकी रहेको सडक पनि बगाउने सम्भावना रहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

अहिले सती नदीले जाल्याबगर सडकमा निर्माण गरिएको ४ सय मिटर सडकमध्ये ब्लास्टिङ गरिएको १ सय मिटर सडकलाई कटान गरिरहेको छ । ब्लास्टिङ गरिएको क्षेत्रमा मेसिनरी वाल नलगाएका कारण नदीले कटान गर्न थालेको स्थानीयले बताएका छन् । 



४ सय मिटर सडकमा नै मेसिनरी वाल लगाएको भए कटान कम हुने भए पनि निर्माण कम्पनीले ब्लास्टिङ गरेको क्षेत्रमा वाल लगाएको छैन । चट्टान काटेर सडक निर्माण गर्नुपर्ने भए पनि निर्माण कम्पनीले भिरलाई ब्लास्टिङ गरेर नदी किनारमा माटो भरेका कारण सडकको उक्त भाग कमजोर भएर सडक बगाएको हुन सक्ने स्थानीयको अनुमान छ । 



  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार २१:२७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया