एजेन्सी– इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र बनेको छ। 'फिमेल भायग्रा' काे प्रयाेगका लागि महिलाले कानुनी रुपमा अनुमति पाएका छन् ।
याे औषधि महिलाका लागि बनाइएको हाे । यसकाे रासायनिक नाम फ्लिब्यान्सेरिन हो।
पहिलो पटक सो औषधिले तीन वर्षअघि अमेरिकामा प्रयोगको अनुमति पाएको हो। एउटा स्थानीय औषधि कम्पनीले अहिले इजिप्टमा त्यसको उत्पादन गर्दैछ।
समाजमा यौनलाई सहज रूपमा नलिँदा इजिप्टका महिलाहरु यौनसँग सम्बन्धित विषयमा खुलेर कुरा गर्दैनन् ।
इजिप्टमा पति र पत्नीबीच सम्बन्धविच्छेद हुने दर बढिरहेको छ। स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूले दम्पतीका बीच यौन समस्यालाई त्यसको कारण मानेका छन्।
औषधि उत्पादकले १० इजिप्टेली महिलामध्ये तीन जना कम यौनेच्छाबाट पीडित भएको बताएको छ। तर यो अनुमान मात्र हो। त्यहाँ यसबारे तथ्याङ्क सङ्कलन गर्नु सजिलो छैन।
सो कम्पनीका प्रतिनिधि अश्रफ अल माराघी भन्छन्, ‘यो उपचार यहाँ अत्यावश्यक छ। यो एउटा क्रान्ति नै हो।’
उनका अनुसार यौनेच्छा बढाउने औषधि सुरक्षित र प्रभावकारी छ। विस्तारै रिङ्गटा र निद्रा लागेको जस्तो हुने असर हराउँछ भन्ने उनको दाबीसँग चिकित्सकहरू असहमत छन्।
सो औषधिले रक्तचाप डरलाग्दो तहसम्म घटाइदिने र मुटु एवम् कलेजोका समस्या भएका व्यक्तिलाई हानि पुर्याउन सक्ने चेतावनी एक औषधिव्यवसायी दिन्छन्।
उत्तरी कायरोमा एउटा औषधिपसल सञ्चालन गर्ने मुराद सदिकका अनुसार उनी औषधि किन्न आउने ग्राहकहरूलाई त्यसका नराम्रा असरबारे पनि बताउँछन्। ‘तर उनीहरू किन्छौँ नै भन्छन्।’
‘एक दिनमा १० जनाजति मानिस सो औषधि किन्न आउँछन्। तीमध्ये अधिकांश पुरुष हुन्छन्।औषधि माग्न महिलाहरू लाज मान्छन्।’
सदिकको पसलमा टाँगिएको विज्ञापनमा फ्लिब्यान्सेरिनलाई 'गुलाबी चक्की' भनिएको छ। पुरुषले सेवन गर्ने भायग्रालाई इजिप्टमा 'नीलो चक्की' भन्ने गरिन्छ।
तर उत्पादकहरू सो औषधिलाई 'फिमेल भायग्रा' भन्नु उचित नहुने बताउँछन्।
माराघी भन्छन्, ‘सञ्चारमाध्यमले त्यो नाम राखिदिएका हुन्, हामीले हैन।’
लिङ्गको उत्तेजनासँग सम्बन्धित समस्या हुँदा भायग्राले लिङ्गमा रक्तसञ्चार सुधारेर उपचार गर्छ। तर फ्लिब्यान्सेरिन उदासीको उपचार गर्न विकसित एन्टिडिप्रेसन्ट औषधि हो र यसले मस्तिष्कमा रासायनिक तत्त्वको सन्तुलन कायम गराएर कामेच्छा बढाउँछ।
सेक्स थेरपिस्ट हेबा कट्ब पनि 'फिमेल भायग्रा' झुक्याउने शब्द हो भन्ठान्छिन्। उनले आफ्ना बिरामीहरूलाई त्यो औषधि दिने गरेकी छैनन्।
उनी भन्छिन्, ‘शारीरिक वा मानसिक समस्या भएका महिलामा यसले कहिल्यै काम गर्दैन।’
‘महिलाका लागि यौन एउटा भावनात्मक प्रकिया हो। यो मनबाट सुरु हुन्छ। यदि पतिले दुर्व्यवहार गर्छन् भने महिलाले कहिल्यै स्वस्थ रूपमा यौनसम्बन्ध राख्न सक्दैनन्। औषधिले पनि काम गर्दैन।’
फ्लिब्यान्सेरिनको प्रभावकारिता एकदमै थोरै भएको र जोखिम लिनु नहुने उनको मान्यता छ। उनी चेतावनी दिन्छिन् - रक्तचाप घटाउनु यसको एकदम गम्भीर असर हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।