समय सीमाको ख्याल नगर्दा अपूरो वाक्यमै सीमित सांसद

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने अधिकांश सांसदले समयको ख्याल गर्न नसक्दा आफ्ना भनाइलाई पूर्णता दिन सकेनन् । बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा पनि यस्तै माहोल देखियो । 

शून्य समयमा बोल्ने अधिकांश सांसदले समयको पावन्दीमा रहेर विषयवस्तु प्रस्तुत गर्न नसक्दा आधा वाक्यमै भनाइ टुंग्याउनु पर्‍यो । सांसदले धेरै विषयवस्तु राख्न त खोजे तर कुनै पनि विषयलाई पूरा गर्न सकेनन् । शून्य समयमा बोल्ने नेकपा एमालेका सांसद महेश बस्नेत, एमालेकै सांसद रामवीर मानन्धर, नेपाली कांग्रेसका राजेन्द्र केसीलगायतका अन्य सांसद समयमै आफ्ना कुरा संसदसमक्ष राख्नबाट चुके । 

शून्य समयमा सभामुख अग्निप्रसाद सापकोटाले समयको किटान गरेर (हरेक सांसदलाई १ मिनेट) मात्र बोल्ने अवसर दिएका थिए । तर, सांसदको विषय, प्रस्तुत गर्ने शैली शून्य समयमा तोकिएको समयसीमा भन्दा लामो थियो । जसकारण पनि उनीहरूले अपूरो वाक्य मात्रै बोल्न भ्याए । 

आधा विषयवस्तु बोल्दा नै उनीहरुको समय सकिएर माइकमा साउण्ड काटिएको थियो । संसदमा प्रभाव जमाएका सांसदसमेत संसदको शून्य समयको परीक्षामा अनुत्तीर्ण रहे । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने एमाले सांसद महेश बस्नेतले पूरा विषय बोल्न नपाउँदै एक मिनेटको समय सकिएको थियो । 

सांसद बस्नेतले लामो विषयमा एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी सरकार पक्षका सांसदले खोजिरहेको भन्दै विषयवस्तुमा प्रस्तुत भए । उनले सरकार पक्षका सांसद एम अधिकारी खोज्ने तर सरकार विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने, परिवार लाद्नमा व्यस्त रहेको आरोप लगाए । उनले नेता एस देउवा, माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवा खोजेर कारबाही गर्नुपर्ने होइन भन्दै प्रश्नसमेत गरे । 

सांसद बस्नेतले बजेटमा रातारात सेटिङ गरेर करका दरहरु हेरफेर गर्ने,सिसिटिभी फुटेजहरु मेटाउने, माओवादी नेता जे शर्माको खोजी गरेर कारबाही गर्नुपर्ने बताए । उनले अन्य धेरै अहिले बजारमा मल अभाव, विद्यालयमा पुस्तक अभाव, एमसीसी पास गर्ने परराष्ट्र मन्त्री, प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर कार्यकारी प्रधान न्यायाधीशलाई कारबाही गर्ने होइन र ? भन्दै प्रश्न गरे । 



उनले प्रहरी प्रशासनमा पार्टीगत अन्तरविरोध भएको बताए । यसो भनिरहँदा समय सकिएको थियो । उनी समय सकिएर माइकमा साउण्ड नआएपछि मुसुक्क हाँस्दै आफ्नो आसनमा बसे ।

त्यस्तै शून्य समयमा बोल्ने मायादेवी न्यौपानेले पनि बोल्दाबोल्दै समय सकिएको थियो । उनले भर्खरै उपसभामुखमा निर्वाचित पुष्पा भुसाललाई सफल कार्यकालको शुभकामना दिँदा नै एक मिनेटको समय सकिएको थियो । 



तर, सांसद न्यौपानेले शुभकामनापछि मातृकाप्रसाद कोइराला र अर्का नेता भन्ने क्रममा नै समय सकियो । उनले यो वाक्यांश नै पूरा गर्न सकिनन् । उनी समय सकिएको समेत थाहा नपाएर सभामुख अग्निप्रसाद सापकोटाले अर्को सांसदलाई बोल्न दिँदासमेत आफ्ना कुरा राखिरहेको दृश्य देख्न सकिन्छ ।

लगत्तै बोल्ने सांसद मीना सुब्बाले पनि एक मिनेटको समयमा कुरा राख्न सकिनन् । उनले निर्वाचन आयोगले खरिद गरेका सामग्री प्रयोगविहीन भएको विषयमा संसदमा विषय उठान गएकी थिइन् । 

सांसद सुब्बाले अघिल्लो निर्वाचनमा निर्वाचन आयोगले अर्बौं रुपैयाँ लगानी गरेर खरिद गरिएका मेसिन प्रयोग विहीन रहेको बताइन् । यत्तिकैमा उनको समय सकियो । उनले बोलेको पछिल्लो वाक्य पूरा नभएको दृश्य र अडियो सुन्न र देख्न सकिन्छ ।

लगत्तै बोलेकी सांसद मैनाकुमारी भण्डारीले पनि एक मिनेटमा संसदमा कुरा राख्न सकिनन् । सांसद भण्डारीले गुल्मीका खोलामा आएको बाढीले घरजग्गा कटान गरेको विषय उठान गरेकी थिइन् । 

उनले त्यहाँका जनताले वर्षैपिछे भोग्नुपरेको समस्या समाधानको लागि पक्की पुल बनाइदिन सरकारसँग माग गरिन् । उनले सिँचाइ मन्त्रीको ध्यानाकर्षण बोल्नुबाहेकका शब्द संसदमा रेकर्ड हुन सकेनन् । त्यत्तिकैमा उनको बोल्ने समय सकियो । 

त्यसपछि शून्य समयमा बोल्ने नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले पनि समयको ख्याल गरेर विषय प्रस्तुत गर्न सकेनन् । उनले गत आर्थिक वर्षमा पुँजीगत खर्च ५७ प्रतिशत मात्रै भएको र त्यसमा ५० प्रतिशत भन्दा बढी असारे विकास भएको बताए । 

सांसद केसीले  विकास निर्माणको काम अत्यन्त लज्जास्पद रुपमा भइरहेको टिप्पणी गरे । उनले समयमा नै विकास खर्च नहुने भएकाले अर्थतन्त्रमा नकारात्मक असर परेको पनि बताए । 

सांसद केसीले भूकम्पको अवस्थामा पनि यस्तो अवस्था देखिएको थिएन भन्ने शब्द बोल्दै गर्दा माइकको आवाज काटियो । वाक्य पूरा गर्ने उहाँको चाहना पनि पूरा हुन सकेन । 

त्यसपछि बोल्ने सांसद राजेन्द्रप्रसाद गौतम पनि संसदको समय सीमाको परीक्षामा अनुत्तीर्ण भए । उनले २४ असारमा संखुवासभाको चैनपुर डुमकटामा भएको सडकमा ट्याक्टर दुर्घटनाको विषयमा बोलेका थिए । सांसद गौतमले दुर्घटनामा घाइतेको उपचारका क्रममा मनकामना अस्पताल खाँदबारी भन्ने वाक्यांश पूर्ण गर्न नपाउँदै समय सकियो ।

त्यस्तै, सांसद राधाकुमारी ज्ञवाली पनि शून्य समयको समयमा फेल भए । उनले किसानलाई सरकारले समयमा नै मल उपलब्ध गराउन नसक्नु नालायकी पन भएको बताए । 

सांसद ज्ञवालीले सरकारले मल उपलब्ध गराएर सहज बनाउन माग गरे । उनले सिँचाइ नभएको कारण रोपेको धान समेत सुकेर किसानको नोक्सान भएको छ भन्न नपाउँदै समय सकिएको थियो । 

शून्य समयमा बोलेका सांसद रामवीर मानन्धरको अवस्था पनि माथिका सांसदको भन्दा फरक थिएन । उनले श्रीमानले बनाएको प्रचण्ड प्रतापी भूपतिको सरकारले एक वर्षमा कुनै पनि राम्रो काम नगरेको आरोप लगाए । 

उनले सरकारले गरेका कामको छानबिन गर्न धेरै संसदीय समिति बनेको तर काम नभएको भन्दै ती समितिलाई पनि छानबिन गर्ने संसदीय महासमिति गठन गर्नुपर्ने माग गरे । सांसद मानन्धर गठन गरेको महासमितिले यस्तो निष्कर्ष निकालोस् भन्न नपाउँदै समय सकिएको थियो ।

त्यस्तै, सांसद रेखा कुमारीले पनि संसदीय समयको सीमामा बोल्न असफल भइन् । उनले पनि आफ्नो सबै कुरा एक मिनेटको समयमा राख्न सकिनन् । यसरी बिहीबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्ने १० जना संसदले एक मिनेटको समयमा आधा मात्रै कुरा राख्न पाए । 

सांसद आवश्यक समयमा बोल्ने विषयवस्तु तय गर्न नसक्दा समयसीमामा धेरैपटक चुकेका छन् । यी आजको प्रतिनिधिसभाका प्रतिनिधिमूलक घटना मात्रै हुन् । 

  • प्रकाशित मिति : साउन ५, २०७९ बिहीबार १६:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया