प्रहरी परिसरमा ‘नागरिक सहायता कक्ष’

काठमाडौँ– नागरिकका गुनासो सुन्न प्रहरी परिसर काठमाडौँले ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ ।  झण्डै रु १९ लाख ५० हजारको लागतमा निर्माण गरिएको सहायता कक्षको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरे ।

समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार स्थापना भएको सहायता कक्षबाट नागरिकहरूले महसुस गर्ने गरी सेवा उपलब्ध गराउन महानिरीक्षक खनालले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए । 

अधिकांश स्थानीय तहमा समुदाय–प्रहरी साझेदारी समितिहरू स्थापना भइसकेको जानकारी दिंदै उनले प्रहरीको एउटै मात्र उद्देश्य समुदायसँग मिलेर अपराध न्यूनीकरण तथा शान्ति, सुरक्षा र अमनचैन कायम गरी समृद्ध राष्ट्र निर्माणमा सहयोग गर्नु रहेको बताए । गुण्डागर्दीलाई जरैदेखि फाल्न निर्देशन दिँदै उनले यस्ता गतिविधि समाजमा देखिए खबर गर्न समुदायलाई आग्रह गरे ।

 कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले शान्ति र भयरहित समाज निर्माणले मात्रै समृद्ध नेपाल बन्नसक्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त लामाले सेवाग्राहीलाई अन्योल नहोस् भनेर अस्थायी कार्यालयमा नै सहायता कक्ष स्थापना गरिएको बताउँदै काठमाडौँको शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताए । 

सामुदायिक सेवा केन्द्रका प्रतिनिधि अच्यूत सापकोटाले प्रहरीसँगको साझेदारीले नागरिकलाई शान्ति सुरक्षाको महसुस भएको बताए । भवन निर्माणका लागि नेपाल बङ्गलादेश बैंकले सहयोग गरेको जनाइएको छ । 

यस्तै काठमाडौँ महानगरपालिका, विश्वास नेपाल र संरक्षक समुहबाट फर्निचर र टेलिभिजन उपलब्ध भएको परिसरका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार सहायता कक्षबाट सचेतनामूलक श्रव्यदृष्य सामाग्री प्रसारणका साथै चेतनामूलक कार्यक्रम तथा नागरिकका गुनासाहरूको सुनुवाइ गरिने छ ।
 





  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार १४:१३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया