बागमती प्रदेशमा ७३ प्रतिशत रोपाइँ सकियो, कुन जिल्लामा कति ?

बागमती प्रदेशमा ७३ प्रतिशत धान रोपाइँ सकिएको छ । प्रदेशका १३ जिल्लामा धान उत्पादन हुने १ लाख २० हजार ५ सय ७० हेक्टर जमिन रहेकोमा मंगलबारसम्म ८८ हजार ९ सय १० हेक्टरमा मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिए । 

प्रदेशका १३ मध्ये तीन जिल्लामा पूर्णरूपमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ५ हजार ९ सय ५९ हेक्टर, ललितपुरमा ४ हजार १ सय ७५ हेक्टर र भक्तपुरमा ३ हजार ९ सय २५ हेक्टर क्षेत्रफलको जग्गामा धान खेती हुने गरेको छ । 

हालसम्ममा सबैभन्दा कम रामेछापमा ६० प्रतिशत मात्रै रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता कँडेलले बताए । यो जिल्लामा ८ हजार ८ सय ९३ हेक्टर रोपाइँ हुने जग्गा रहेकोमा हालसम्म ५ हजार ३ सय ३६ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै, धादिङमा ६८ प्रतिशत अर्थात ११ हजार १ सय ५९ हेक्टरमध्येको ७ हजार ५ सय ८८ दशमलव १२ हेक्टरमा रोपाइँ भएको छ । 

दोलखाको २ हजार ९ सय २१ हेक्टर क्षेत्रफल रोपाइँ हुने जग्गामा मंगलबार २ हजार ५० हेक्टर अर्थात ७० प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । यसैगरी सिन्धुलीको १५ हजार ४ सय २३ हेक्टर मध्ये १० हजार ७ सय ९६ अर्थात ७० प्रतिशत धान रोपाइँ सकिएको छ । यस्तै, काभ्रेमा ९ हजार ३ सय ८५ हेक्टर धान रोपाइँ हुने जग्गामा हालसम्ममा ७६.६ प्रतिशत अर्थात ७ हजार ४ सय ७४ दशमलव ४ हेक्टरमा रोपाइँ सकिएको छ । 

त्यस्तै, सिन्धुपाल्चोकमा ८ हजार ५ सय ९० हेक्टरमध्ये ७०.५ प्रतिशत अर्थात ६ हजार ५६ हेक्टर खेतमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका अन्य जिल्लाको तुलनामा सबैभन्दा धेरै धान उत्पादन हुने चितवनमा २२ हजार ९ सय ७७ हेक्टर धानले ढाकेको क्षेत्रफल छ । जहाँ हालसम्ममा ८० प्रतिशत अर्थात १८ हजार ३ सय ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।  

त्यस्तै, नुवाकोटमा १४ हजार २ सय ८३ हेक्टरमध्ये ७५ प्रतिशत अर्थात १० हजार ७ सय १२ हेक्टरमा रोपाइँ भएको छ भने रसुवामा ८० प्रतिशत रोपाइँ सकिएको मन्त्रालयको तथ्यांक छ । रसुवाको १ हजार ८ सय ७२ हेक्टर धानले ढाकेको जग्गा मध्ये मंगलबार सम्ममा १ हजार ४ सय ९७ हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । 



मकवानपुरमा ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । मकवानपुरको ११ हजार हेक्टर क्षेत्रफल धान उत्पादन हुने जग्गा रहेकोमध्ये ७ हजार ७ सय हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । बागमतीमा कुल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर जमिनको ९० प्रतिशतमा यो वर्ष धान खेती हुने अनुमान रहेको प्रवक्ता कँडेलले बताए । 

बागमतीमा पछिल्लो केही वर्षयता धान उत्पादन घट्दो क्रममा छ । कृषिप्रति किसानको घट्दो आकर्षण र सरकारको अस्पष्ट नीतिले धानको उत्पादन घट्दै गएको हो । आर्थिक वर्ष २०७७/०७८ मा ५ लाख ९ हजार ५ सय ९० मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७६/०७७ मा ५ लाख १० हजार २ सय, २०७५/०७६ मा ५ लाख २१ हजार ४ सय ४६ मेट्रिक टन धान उत्पादन भएको थियो ।



  • प्रकाशित मिति : साउन ६, २०७९ शुक्रबार ९:३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया