बाटोछेउमै एउटा सटर छ । भित्र–बाहिर कुर्सी र मुढा मिलाएर राखिएका छन् । ती कुर्सी र मुढामा एक–एकजोडी स्कुलका विद्यार्थी रंगीबिरंगी पोसाकमा बसेका छन् ।
दृश्य हेर्दा कसैले विद्यार्थीलाई ट्युसन पढाइरहेजस्तो देखिन्छ । अरू पनि भित्र बस्ने ठाउँ नपाएर बाहिर उभिएर अर्को सिफ्ट कुरिरहेजस्तो देखिन्छ । भित्र एकजना भ्याइ नभ्याइ काम गरिरहेका छन् । यो दृश्य हो– कीर्तिपुर पाँगामा रहेको एउटा चटपटे पसलको । यसका मालिक हुन्– भिजन बाँस्कोटा ।
२८ वर्षअघि झापामा जन्मिएका भिजन बाँस्कोटा पढाइको सिलसिलामा २०६५ सालमा काठमाडौं छिरेका हुन् । उनले यो व्यवसाय सुरु गरेको करिब पाँच वर्ष भयो । चटपटे व्यवसायका अतिरिक्त उनी गीतसंगीतसँगै पेन्टिङ पनि गर्छन् ।
भिजन पढाइलाई बढी महत्त्व दिने विद्यार्थी हुन् । तर, देशमा पढेलेखेका युवा रोजगारी नपाएर विदेश गएको देख्दा उनलाई नमिठो लाग्छ । आफ्नो पनि यही अवस्था आउला कि भनेर उनी पढाइ छोडेर व्यवसायतर्फ लागे । तर उनलाई पढ्न इच्छा नभएको भने होइन । उनी अझै धेरै पढ्ने इच्छा रहेको बताउँछन् ।
पढाइ र व्यवसाय सँगसँगै लानु त्यति सजिलो काम होइन । उनले भने, ‘आफ्नो खुट्टामा उभिइसकेपछि जे गर्न पनि सजिलो, यही कारणले पढाइ छाडें ।’ तर, उनी पुनः पढाइ अगाडि बढाउने विचारमा छन् । उनी भन्छन्, ‘हामी सबैले सरकारलाई दोष दिनुु भन्दा केही गर्ने जाँगर चलाएमा आफैं पनि राम्रो आम्दानी हुने काम गर्न सकिन्छ । हामीले केवल आफ्नो सोच बदल्न जरुरी छ ।’
साथीहरूले विदेश जाने कुरा गरिरहेका बेला भिजनले आफ्नै देशमा केही व्यवसाय गर्ने सोच बनाए र उनी सबैको रोजाइमा पर्ने चटपटे व्यवसाय सुरु गरे ।
चटपटे व्यवसाय सुरु गर्नुभन्दा पहिले अरू थुप्रै ठाउँमा काम गरेको भिजन बताउँछन् । एक समय उनी शिक्षक पनि भए, त्यसपछि अपार्टमेन्टहरूमा सुपरभाइजरको रूपमा पनि काम गरे । त्यसबाट आएको तलबले महिना दिन धान्न धौधौ पर्ने, त्यसमाथि साहूको कचकच, त्यसैले यी सब काम छोडेर आफू केही गर्ने सोच बनाए र खोले चटपटे पसल ।
भिजनले हाँस्दै भने, ‘चटपटे नामजस्तै चटपट हुन्छ । यसले मान्छेलाई एक्टिभ बनाउँछ । मःमः, चाउमिन, समोसा सबैले मन नपराउन सक्छन्, तर चटपटे मन नपराउने सायद कमै होलान्,’ उनी भन्छन्, ‘यसले मनमा एक प्रकारको छुट्टै आनन्द दिन्छ । उनी बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म पसल चलाउँछन् ।
काम गर्न चाहनेहरूका लागि देशमा थुपै्र अवसर छन् । त्यसलाई हामीले पहिल्याउन सक्नुपर्छ । युवाहरू दिन प्रतिदिन बिदेसिने क्रम जारी छ । वर्तमान समयलाई हेर्दा हाम्रो देशमा युवा थोरै छन् । ती थोरै पनि विदेश जाने सपना बुनेर बसेका छन् । त्यसैले हाम्रो देशमा बाहिरबाट (छिमेकी देश भारत वा अन्य) आएका मानिसले ससाना व्यवसाय गरेरै पनि मनग्गे आम्दानी गरिरहेका छन् ।
प्रायः नेपाली युवा भने त्यस्तो काम गर्न लाज मान्ने गर्छन् । भिजन भन्छन्, ‘यही बेथिति देखेर मैले आफैं केही गर्ने सोच बनाएँ । लगानीअनुसार यसबाट राम्रै आम्दानी पनि भइरहेको छ । आफैं उद्यमी हुनुको गौरव पनि छ यसमा ।’
भिजन थप्छन्, ‘यो व्यवसाय गरेर धेरैको प्यारो पनि भएको छु । आफ्नै देशमा दाजुभाइ, दिदीबहिनीदेखि लिएर सबै खालका मानिसको सेवा गर्ने मौका पनि पाएको छु ।’
यही व्यवसायबाट उनले दैनिक तीन–चार हजार रुपैयाँ आम्दानी गरिरहेका छन । आधा लगानी भए पनि आधा नाफा हुने उनी सगौरव बताउँछन् । ‘चटपटे व्वयसाय गर्न कुनै तालिम लिनुपर्दैन, यो बनाउँदा बनाउँदै सिकिन्छ,’ भिजनले मुस्कुराउँदै भने, ‘मैले कहीँ–कतै कुनै तालिम लिइनँ । कहिलेकाहीँ अरूको पसलमा खान जान्थें, देख्दादेख्दै सिकेको ।’
भिजन आफ्नो व्यवसाय काठमाडौंका अरू ठाउँमा पनि विस्तार गर्ने योजनामा छन् । उनी भन्छन्, ‘व्यवसायले नै मान्छे अगाडि बढ्ने हो । यसलाई म ठूलो रूपमा विस्तार गर्न चाहन्छु ।’ खासगरी चटपटे विद्यार्थीको रोजाइमा पर्छ । जुनसुकै ठाउँमा हेर्दा चटपटे पसल होस्टेल वा स्कुलको छेउछाउतिरै खोलिएका र ठेलामा राखिएको हुन्छ । उनी भन्छन्, ‘यसका ग्राहक अधिकांश विद्यार्थी नै हुन् ।
भिजनको विचार अलिक भिन्न छ । उनमा आफ्नै देशमा केही गर्ने सोच छ । मानिसहरू चटपटे खान आएको बेला आफ्ना छोराछोरी विदेश गएको बताउँछन् । यति पढेलेखेको मान्छेले यस्तो काम गर्ने हो भन्दै उनलाई उपदेश दिन्छन् । उनलाई त्यो सह्य हुँदैन । उनी भन्छन्, ‘देश–विदेश घुम्ने ठूलो इच्छा छ, तर त्योभन्दा पहिले आफ्नै देशमा केही गर्नु छ ।’
तर कतिपयले भने उनको कामको प्रशंसा पनि गर्छन् । यसबेला उनलाई औधी खुसी लाग्छ । भन्छन्, ‘मैले यो काम आफ्ना लागि मात्र गरेको होइन, हाम्रा देशका युवाले मेरो काम देखेर आफ्नै देशमा केही गरून् भनेर उदाहरण बन्न खोजेको हुँ । मलाई यो गर्नुपर्ने कुनै बाध्यता पनि होइन । युवालाई आफ्नै देशमा केही गर्नुपर्छ भनेर प्रेरित गर्नका लागि यो काम गरेको हुँ ।’
चटपटेले मानव स्वास्थ्यमा कुनै असर नपर्ने उनको दाबी छ । उनी बताउँछन्, ‘यसमा सबै कुरा ताजा हुन्छ । कुनै किसिमको बासी चीज हुँदैन ।’
०००
भिजन कलाकार पनि हुन् । भविष्यमा गायक बन्ने उनको ठूलो रहर छ । उनले चारवटा गीतमा स्वर भरिसकेका छन् । उनले यस वर्षको विन्दवासिनी म्युजिक अवार्डमा नवप्रतिभाको अवार्ड पनि हात पारेका छन् । उनी कहिलेकाहीँ चित्रकारिता पनि गर्ने गर्छन् । चटपटेसँगै उनी कला क्षेत्रमा पनि लागिरहेका छन् ।
देशका हरेक युवाले भिजनबाट केही कुरा सिक्न जरुरी छ । हामीले आफ्नै देशमा आफ्नै इच्छाअनुसार, आफ्नो क्षमता र दक्षताले भ्याएसम्म जुनसुकै काम पनि मन लगाएर गर्यौं भने हामी कहिल्यै पनि बेरोजगार बस्नुपर्ने छैन । भिजन यसै कुरामा अडिग रहेर आफ्नो पाइला अगाडि बढाइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।