पार्टीमा अनुशासनको खाँचो : सभापति देउवा

दमौली- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् । 
तनहुँमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति देउवाले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिए । 

 विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै सभापति देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने बताए । 

सबै एकजुट भएर अगाडि बढे काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने उल्लेख गर्दै उनले एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न निर्देशनसमेत  दिए । 

महासमितिको बैठकबाट पारित पार्टीको विधान उत्कृष्ट रहेकोे जिकिर गर्दै सभापति देउवाले पार्टीलाई तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको यो विधान काङ्ग्रेस पार्टीको आत्मविश्वासको प्रतीक भएको बताए । 

तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने बताउँदै पूर्वप्रधानमन्त्री देउवाले ‘सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारवाही गर्न असफल भएकोले’ उसका क्रियाकलापविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन पनि दिए । 

काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले आन्तरिक एकता नहुनु नै काङ्ग्रेसको हारको मुख्य कारण हो भन्दै कम्युनिष्ट पार्टी मिलेर मात्रै नभई पार्टीभित्रै एकता नहुँदा काङ्ग्रेस आज यो अवस्थामा पुगेको बताए । तनहुँमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षले गर्न लागेको विशेष अधिवेशन विधानअनुसार नभएकाले उहाँहरुलाई बोलाएर छलफल गर्नुपर्नेमा महामन्त्री कोइरालाले जोड दिए । 





  • प्रकाशित मिति : माघ ६, २०७५ आइतबार १५:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया